म आएपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएकाे छु : मन्त्री आले

 मंसिर २०, २०७८ सोमबार १५:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्यययिता अपनाएको बताउनुभएको छ । 

आज सोमवार मन्त्रालयमा आयोजित नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) लाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाण पत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाएको दाबी गर्नुभएको हो ।

आफूले नेपाली ध्वजावाहक जहाजलाई नाफामा पुर्‍याउने चाहना राखेको उहाँले बताउनुभयो । अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो ध्वजावाहक जहाज भनेको नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको हाे । यसलाई कुनै पनि हालतमा माथि उठाउनैपर्छ । यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ । हामी चाहन्छौँ कमभन्दा कम खर्चमा नेपाल ध्वजावाहक जहाज नाफामा होस्, फाइदा होस् । अहिले पनि हामीलाई ५० अर्ब रुपैयाँभन्दा बढी ऋण छ । हामी एकदमै चिन्तित छौँ । हामीले नाै प्रतिशत ब्याज तिरिराख्नु परेको छ । किस्ता हाम्रो ड्यु छ । ब्याज हामीले तिर्न सकेका छैनौँ । विभिन्न समस्या समाधान गर्नका लागि म यहाँ आएको छु । राम्रो काम गर्दा कतिपय मान्छेहरूले आफ्नो व्यक्तिगत चाहना पूरा नहुँदा उनीहरूले विभिन्न मिडियामा लेखाउने काम गरिराखेका छन् । त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईँहरू आफैँले पनि बुझ्न सक्नुहुन्छ ।’

मन्त्री आलेले खतराजन्य पदार्थ आयात–निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको उल्लेख गर्नुभयो । खतराजन्य पदार्थ आयात–निर्यातमा अब व्यवसायीहरूलाई झन्झट नहुने र नाफा हुने उहाँले बताउनुभयो । 

मन्त्री आलेले आफू मन्त्रालय  मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसङ्गति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया