एमसीसी सेनासँग वा सार्वभाैमसत्तासँग जाेडिने कुरा नहाेस् : अध्यक्ष नेपाल

 पुष ५, २०७८ सोमबार १६:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनुभएको छ । 

समाजवादी प्रेस सङ्गठन नेपालले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनुभएको हो । उहाँले एमसीसीको बारेमा सत्तारुढ पाँच दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने पनि बताउनुभयो । 

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौमसत्तासँग एमसीसी जोडिन नहुने बताउनुभयो । उहाँले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटि/कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताउनुभयो । अध्यक्ष नेपालले छिमेकी देशहरूमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमसीसीको सवालमा पनि हामी छलफल चलाइरहेका छौँ । कसरी, त्यसको अन्तरवस्तु के छ ? कतै कमजोरी छन् भने, सच्याउनुपर्ने कुरा छ भने, प्रतिबद्धता दिनुपर्ने कुरा छ भने ती के–के हुन् भन्नेबारेमा पनि हामी छलफल गरिरहेका छौँ । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निष्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौँ । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौँ । अहिले एमसीसीसँग जोडिएकाहरूले यो गठबन्धनको अङ्ग होइन भनेर हामीलाई प्रष्ट पार्ने कोसिस गरिरहेका छन् । यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौँ । यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस् । सेनासँग वा अन्य कुनै पनि कुरासँग, नेपालको सार्वभौमसत्तासँग जोडिने कुरा नहोस् । छिमेकीहरूमाथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस् । पाँच दलको बीचमा छलफल गरेर साझा निष्कर्ष निकालेर, देशको हितको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेर नै अघि बढ्नेछौँ ।’ 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया