पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
हिजोआज तिजको अवसरमा शहरमा देखिने रमझमले म हरेक वर्ष मेरो घरमा पहिलो पटक मनाईएको तिज सम्झन्छु । आजभन्दा झण्डै १३ वर्षअघि म तिजसँग जोडिन पुगें । सुन्दा धेरैलाई अच्चम लाग्ला, म कक्षा ९ सम्म पढ्दा तिजको बारेमा जानकारी थिएन ।
म हुर्केको ठाउँमा तिजको लागि न दर नै खाइन्थ्यो, न त मेरो आमा तिजमा माईत जानु हुन्थ्यो । मलाई याद भएसम्म स्कुलमा समेत तिजको बिदा हुँदैन थियो ।
१३ वर्षअघि पहिलो पटक घरमा तिज मनाउँदा पुरै गाउँका मान्छे, यो के भयो भनेर हेर्न पुगेका थिए । उनीहरुले त्योभन्दा पहिले हाम्रो गाउँमा कसैले पनि तिज मनाएको देखेका थिएनन् ।
त्यो वर्ष हाम्रो घरमा तिज भव्य बनाउन भाउजु आउनुभएको थियो । गाउँमा तिज नहुने भएकाले भाउजुले दाइलाई दुई दिनअघि नै सदरमुकाम जाउँ भन्नु भएको थियो । तर दाइले घरमै मनाउँदा पनि हुन्छ भनेपछि भाउजुले घरमै पहिलो पटक तिज मनाउने योजना बनाउनु भयो ।
अहिलेको जस्तो देखावटी तिजभन्दा पनि सामान्य तरिकाको थियो । एक्लैले तिज मनाउन नहुने भएकाले भाउजुले बिहे गरेका दुईजना अरु महिलाहरुलाई पनि साथी खोज्नु भयो । साथी हुनुहुन्थ्यो एकजना फुपु र एकजना गाउँकै दाइको छोरी ।
तीनैजनालाई हाम्रो घरमा बोलाएर तिजको अघिल्लो दिन खिर, पुरी, दही अनि घरमै उपलब्ध हुने फलफूल केरा, नासपाती र काँक्रा तयार गरी दर खुवाउनुभयो । अर्को दिन बिहानै उठेर तीनैजना नुवाईधुवाई गरी, रातो चुरा र सारी लगाएर गाउँ नजिकैको मन्दिरमा जानुभयो । दिनभरी पानी समेत खानु पिउनुभएन ।
साँझतिर भाउजुले दाइ र अर्को दुईजनाको श्रीमानलाई पनि घरमै बोलाउनु भयो । उहाँहरुलाई नुहाउन लगाई, एउटा पित्तलको भाडाँमा खुट्टा राख्न लगाएर व्रतालु तीनैजनाले पालैपालो आआफ्नो श्रीमान्को खुट्टा धोएको पानी खाए । त्यसपछि अलिअलि खानेकुरा पनि खाए ।
यो देखेर गाउँका सबै मुखामुख गर्न थाले । यो घरमा के हुन लाग्यो, फलानोको बुहारीले घर नै बिगार्ने भई भनेर गाउँमा कुरा चल्यो केही समय । यसरी मनाईएको थियो हाम्रो घरमा पहिलो पटक तिज ।
त्यो तिजमा न त व्रत बस्नेले झकिझकाउ गहना लगाउनु पर्छ भनेर भनेका थिए, न त ऋण गरेरै भए पनि मिठो मिठो खानु पर्छ नै भनेका थिए । यतिसम्म कि त्यतिबेला तिजको गीत समेत बजाउन पाएका थिएनन् । अहिलेको जस्तो मोबाइल, एफएम रेडियो, टीभी गाउँमा केही पनि थिएन ।
तर अहिले सम्झँदा भाउजुले मनाउनु भएको त्यो तिज नै शान्त, भव्य र रमाइलो थियो । त्यो नै भाउजुको पहिलो तिज थियो हाम्रो घरमा । त्यसपछि अहिलेसम्म पनि भाउजुले घरमा तिज मनाउनु भएको छैन । घर बाहिर नै मनाउनु हुन्छ तिज । भाउजुले मनाउनु भएको तिजको सिको गर्नेहरुले त्यसपछि बिस्तारै तिजलाई पछ्याउदै गए । अहिले गाउँमा दुईहप्ता पहिले नै स्पीकरमा तिजको गित बजाएर रमाइलो गर्ने गरिन्छ ।
अहिले गाउँमा पनि तिजले बिस्तारै छुन थालेको छ । तर मलाई भने तिजले कहिल्यै छोएन । अरुको लहलहैमा रातो सारी र चुरा लगाएर एक दुई वर्ष रमाईलो गरिए पनि पानी समेत नपिएर व्रत बस्ने काम कहिल्यै भएन ।
धार्मिक मान्यता जेजस्तो भए पनि तिज मनाउने शैली र तिजको नाममा गरिने कार्यक्रमहरु भने बिस्तारै परिवर्तन हँुदै गइरहेका छन् । चाडवार्ड मनाउनु, घरपरिवार र आफन्तसँग भेटघाट गर्नु, सुखदुःखका कुराकानी गर्नु, मिठो मसिनो खानु राम्रो हो ।
तर अहिले तिजका नाममा महिना दिन अघिदेखि मनाईने दर कार्यक्रम र संघसंस्थाले आयोजना गर्ने भोजभतेरले संस्कृतिको नाममा विकृति फैलाउँदै छन् । यसतर्फ सबैले सोच्नुपर्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
होमराज सुबेदि
Sept. 11, 2018, 3:48 p.m.गज्जबको कहानी रैछ । हाम्रो तिर पहिलेदेखि नै तिज को दर खाने चलन थियो तर त्यसमा आजभोलि छोरिचेली मात्र नभएर ज्वाइँ पनि सामेल हुन थालेका छन। छोरिले दर खान्छिन ज्वाईले दारु एहि फरक छ