नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रक्रियालाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १७ औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव रहने बताउनुभयो ।
‘निजी क्षेत्रले दशकौँदेखि उठाउँदै आएको हो तर अझै पनि यसमा सुधार हुन सकेको छैन । पुँजीगत खर्चको खर्च प्रक्रिया परम्परागत छ । फागुनसम्म जम्मा १९ प्रतिशत पुँजीगत खर्च भएको तथ्याङ्क छ । यसलाई सुधार नगरि आर्थिक विकास र समृद्धि हासिल हुन सक्दैन’, उहाँले भन्नुभयो ।
कोभिडपछि आर्थिक गतिविधि बढाउन, वैदेशिक लगानी भित्र्याउन, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न के–के उपायहरू हुन सक्छन् भनेर नेपाल उद्योग वाणिज्य महासङ्घ लागिरहेको उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष ढकालले वैदेशिक लगानीको सहजीकरणका लागि लगानी बोर्डसँग सम्झौता गरी महासङ्घ अगाडि बढ्न खोजेको जानकारी गराउनुुभयो ।
उहाँले गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने क्रम बढ्दै गएको र यसलाई थप प्रोत्साहन गर्न एउटा थ्रेस होल्ड राखेर सीमित अवधिका लागि कर छुट तथा अन्य सुविधा दिन सकेमा थप वैदेशिक लगानी आकर्षित गर्न सकिने कुरा बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सके त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजस्व सङ्कलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट सरकारले पर्याप्त फाइदा लिन सक्ने बताउनुभयो ।
‘केही वर्षअघि मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथिर मोहम्मद नेपाल आउनुभएको थियो । त्यस बेला मैले उहाँलाई काठमाण्डौका केही ठाउँ घुमाउने अवसर पाएको थिएँ । त्यस बेला मैले उहाँलाई सोधेको थिएँ– प्रधानमन्त्रीज्यू, छोटो समयमै मलेसियाले गरेको विकासको रहस्य के हो ? उहाँको जवाफ थियो– सरकारले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय लाग्दैन । निजी क्षेत्र सरकारकोसाझेदार हो ।’
नेपालको पहिलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडका अध्यक्षसमेत रहनुभएका ढकालले रेमिट्यान्सलाई औपचारिक रूपमा नेपाल ल्याउन वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई नगद प्रोत्साहन तथा इन्सेन्टिभ दिनुपर्ने बताउनुभएको छ ।
पोखरा आन्तरिक पर्यटनको हब बन्दै गएको बताउँदै उहाँले कोभिडपछि पोखराको आर्थिक गतिविधि फेरि लयमा फर्किन लागेको बताउनुभयो ।
लेखनाथ महोत्सवले आन्तरिक उत्पादन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै उहाँले लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने लेखनाथ महोत्सव सबै जिल्ला/नगर उद्योग वाणिज्य सङ्घहरूलाई प्रेरणाको स्रोत भएको समेत बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।