११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
मंसिर ७, २०८१ शुक्रबार
देशकै राजधानी रहेको काठमाडौं जिल्लामा पर्ने टोखा नगरपालिका प्राचीन र ऐतिहासिक शहर पनि हो ।
केही दिनअघि नगरपालिकाको कार्यालयमा पुग्दा स्थानीयबासिन्दा आ–आफ्नै समस्या र गुनासा बोकेर आएका थिए । कसैलाई घरजग्गाको समस्या मिलाउनु थियो, कसैलाई बाटोघाटो र साँध सीमानाको ।
समस्या लिएर आउनेहरुको भिडमा एकजना एकल महिला पनि हुनुहुन्थ्यो । उहाँसँगको कुराकानीपछि मेरो मनमा तरङ्ग पैदा भयो । काठमाडौंमा त यस्तो छ भने झन् देशका दुर्गम ठाउँहरुको अवस्था कस्तो होला ? जस्तो लाग्यो । धेरै सोच्न बाध्य बनायो ती एकल महिलाको कुराले ।
उहाँको पीडाले मनमा नराम्रो चोट पुग्यो । पीडितसँग सबै कुरा सोध्ने आँट आएन । नगरपालिकाकी उपप्रमुखसँग कुराकानीपछि सबै कुरा बुझ्ने मौका पाएँ ।
टोखा नगरपालिकाको झोर नजिकै डेरा गरेर बस्ने ती एकल महिलाकी ३ वटी छोरी छन् । कक्षा ९ मा पढ्दै गरे्की कान्छी छोरी पहिलो त्रैमासिक परीक्षा सकेर बेलामा घर फर्किनन् । आउने बाटो हेर्दाहेर्दै रातको ९ बज्यो ।
त्यसपछि छिमेकीको सहयोगमा प्रहरीलाई खबर गरियो । त्यो रात फेला परेन । भोलिपल्ट पनि खोजी भयो, केही पत्तो लागेन । लगातार ६ दिनसम्म दिन रात नभनी खोजेपछि छिमेकमा डेरा गरी बस्ने राजबिराज घर भएको केटोले प्रलोभनमा पारेर मुम्बई पुर्याएको थाहा भयो ।
त्यसपछि केटाको घरमा गएर बिहेको लागि पुरै तयारी भैसक्यो भनेर ९ तोलाको नक्कली गहना देखाएर दुवै जनालाई झिकाइयो । पहिलेदेखि नै केटी बेच्ने गरेको भन्ने खुलेपछि त्यो नाटक गरेर नेपाल झिकाईएको थियो ।
छोरी त फेला परिन्, तर ती एकल महिलाले अझै न्याय पाएकी छैनन् । न्यायको ढोका ढक्ढक्याउने आँट पनि छैन । केटीको मेडिकल रिपोर्टपछि नगर उपप्रमुखको पहलमा अहिले अभियुक्तलाई बलात्कार र चेलिबेटी बेचबिखनको आरोपमा मुद्दा हाल्ने भनिएको थियो ।
उल्टै केटाको घर परिवारले छोरा बेपत्ता परेको भनेर मुद्दा हालेपछि केटी घरबाट बाहिरै निस्कन मानेकी छैनन । समाजले गर्ने व्यवहारले उनको दैनिकी पनि सहज छैन । पहिला एउटै घरमा बस्ने गरेको भए पनि अहिले केटो अर्कै ठाउँमा डेरा गरेर बसेको रहेछ ।
नगर उपप्रमुख ज्ञानमाया डंगोलको पहलमा न्यायको खोजी गर्ने भनेर लागे पनि उल्टै अहिले ती महिला सम्पर्कमा आएकी छैंनन । छोरी घरबाट निस्कन नमानेपछि आमा पनि नगरपालिका नआएको हुन सक्ने डंगोलले बताउनुभयो । ‘ती महिला फेरि सम्पर्कमा आएमा मैले न्याय दिलाएरै छोड्छु, मैले सम्बन्धित निकायमा कुरा राखेको छु’ उहाँले भन्नुभयो ।
काठमाडौंकै नगरपालिकामा बस्ने महिलाले न्याय पाउन नसकेको थाहा पाएर मेरो मनमा प्रश्न उठ्यो, के हाम्रो देशको कानून नाम मात्रैको लागि हो ? कि कानुन पहुँचवालाको लागि मात्रै हो ? के हिजोआज प्रविधिले पनि यस्ता खालका घटना गराउन सहयोग गरेकै हुन् त ? कि हाम्रो देशको शिक्षाले सचेत बनाउन नसकेको हो ? किन सम्बन्धित निकाय मौन छ ?
यस्ता खालका धेरै प्रश्न उठेको छ, तर प्रश्नको जवाफ मिलेको छैन । अहिले सबैको पहुँचमा रहेको सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इमो, भाइबर लगायतका माध्यमबाट मायाको नाटक गर्ने अनि बिहे गर्ने प्रलोभनमा पारेर कसैले यौन शोषण गर्ने त कसैले मुम्बईको कोठीसम्म पुर्याउने गरेका तथ्य धेरै अनुसन्धानले देखाएको छ ।
चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जालका अनुसार भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । अहिले भारतमा धेरै नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न रहेको बताइएको छ ।
विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखन हुने गरेको तथ्याँक छ । नेपालमा पनि चेलिबेटीमाथि बलात्कार, हिंसा र बेचबिखनको घटना दिनदिनै बढिरहेका छन् । धेरै तथ्य त लुकाईएको छ, घरपरिवार अनि समाजको डरले ।
दिन प्रतिदिन हत्या, हिंसा, बलात्कार र बेचबिखनको खबर दोहोरिरहेका छन् । आखिर कहिलेसम्म ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।