५ सचिवकाे सरुवा, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अरू निर्णय

 जेठ ११, २०७९ बुधबार १७:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले पाँच जना सचिवकाे सरुवा गरेकाे छ । हिजाे मङ्गलवार जेठ १० गते बसेकाे मन्त्रिपरिषद् बैठकले पाँच जना सचिवकाे सरुवा गरेकाे हाे । 

सरकारले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरू रविन्द्रनाथ श्रेष्ठ, सुरेश आचार्य, मणिराम गेलाल, सुशीलचन्द्र तिवारी र गोपालप्रसाद सिग्देलकाे सरुवा गरेकाे हाे । उहाँहरूलाई क्रमशः प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ । 

यस्तै सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे ।  

मन्त्रिपरिषद् बैठकका निर्णय आज बुधवार सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरशिप कार्यक्रम तथा प्रशिक्षणमा सहभागी हुन नायब महान्यायाविधवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनुभयो । 

त्यस्तै सरकारले अमेरिकाको हवाईमा रहेकाे मनोलोलुमा जेठ १८ देखि २० गतेसम्म आयोजना हुने कन्प्रिएन्सिभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । 

प्रवक्ता कार्कीले आउँदो जेठ १८ देखि २५ गतेसम्म भारतमा आयोजना हुने हाई लेभल नेपाल स्टडी मिसन टु इन्डिया अन राइट टु फुड एन्ड फुड सर्भिरेन्टी एक्ट कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपक्षी विकास मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय भएको पनि जानकारी दिनुभयो । 

त्यस्तै सरकारले आउँदाे जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एन्ड नलेज शेयरिङ अन युरोपियन को–अप्रेटिभ सिस्टम एन्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एन्ड भेजिटेबल को–अप्रेटिभ्स मार्केट डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेकाे छ । 

रुवान्डाकाे किगालीमा २०७९ जेठ २३ गतेदेखि असार २ गतेसम्म आयोजना हुने वर्ल्ड टेली कम्युनिकेशन डेभलपमेन्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृत दिने निर्णयसमेत भएकाे छ । 

प्रवक्ता कार्कीले लोक सेवा आयोगको सिफारिसअनुसार नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने निर्णय गरेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया