महँगीको मारमा उपभोक्ता : खानेतेलदेखि गाडी भाडा समेत महँगाे

 असार ७, २०७९ मंगलबार १०:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पेट्रोलियम पदार्थको भाउ बढेसँगै यातायात व्यवसायीले आफूखुशी भाडा लिन थालेका छन्  ।

लामो तथा मध्यमसँगै छोटो दूरीमा पनि यात्रु बढी भाडा तिर्न बाध्य भएका छन् । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा घटबढ हुँदै आएको छ । त्यसअनुसार यातायात व्यवस्था विभागले हिजोदेखि लागू हुने गरी एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा भाडा समायोजन गरेको छ । 

तर प्रदेशभित्र तथा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीमा पनि व्यवसायीले भाडा बढी लिन थालेका छन् । काठमाण्डौ उपत्यकामा न्यूनतम भाडा २० रुपैयाँ भए पनि पेट्रोलियम पदार्थको भाउ बढेसँगै हिजोदेखि नै २५ रुपैयाँ तिर्न थालेको यात्रुको गुनासो छ । गाडी चालकले पनि पेट्रोलियम पदार्थको भाउ बढेकाले भाडा बढाउन बाध्य भएको बताएका छन् । हवाई इन्धनको समेत भाउ बढे पछि आन्तरिक हवाई भाडा पनि बढेको छ । 

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएर १ सय ९९ रुपैयाँ पुर्याएको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको भाउ १ सय ९२ रुपैयाँ पुगेको छ । इन्धनमा भाउ बढेसँगै ढुवानी भाडा बढ्ने भएकाले खाद्यान्नलगायत अन्य सामग्री समेत महँगो हुने व्यापारीको भनाइ छ । उपभोक्ता महँगीको मारमा परेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको निहुँमा व्यवसायीले खानेतेलमा समेत भाउ बढाएका छन् । यसले नागरिकलाई थप मारमा पारेको छ । तर, मूल्य वृद्धिले उपभोक्ता मारमा पर्दा पनि राहत दिन भने सरकार उदासिन छ ।

मूल्य वृद्धि विरुद्ध सदन र सडकसहित सामाजिक सञ्जालमा विरोध भइरहेको छ । मूल्य वृद्धि फिर्ता गर्न र महँगी नियन्त्रण गर्न सरकारलाई दबाब परेको छ । तर, पनि सरकार भने यस विषयमा अझै गम्भीर बनेको छैन । नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारले इन्धनमा गरेको मूल्य वृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने चेतावनी दिएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया