सीसीटीभी फुटेजबारे जानकारी लिन विशेष समितिद्वारा अर्थ मन्त्रालयकाे निरीक्षण

 असार २९, २०७९ बुधबार १९:५९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ । 

आज दिउँसाे अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो ।

त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनु भयो। उहाँले समितिका सदस्यहरुलाई अर्थ मन्त्रालयका प्राविधिकहरुले त्यसबारे आवश्यक जानकारी गराएको पनि बताउनु भयो । 

यसैबीच, समितिले घटनाको सम्बन्धमा आवश्यक कागजात भोलि दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको छ । यस सम्बन्धमा आवश्यक कागजातसहितको प्रमाणहरु समितिलाई उपलब्ध गराउन आज बिहान अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि समितिले जनाएको छ ।

निःवर्तमान अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो। त्यही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो।

समितिमा एमालेबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा रहनु भएको छ । त्यसैगरी नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा (माओवादी केन्द्र) बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत रहनु भएको छ भने नेकपा (एकीकृत समाजवादी) की सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण रहनु भएको छ ।

एक हप्ताअघि अर्थात गएकाे असार २२ गते बुधवार गठन गरिएको याे समितिको सभापति समेत अझै चयन गरिएको छैन । कार्यविधि भने तय गरी छानबिनको कामलाई अघि बढाइएको समितिका सचिव अर्यालले बताउनु भयो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया