एमालेले भन्याे, ‘सरकारको १ वर्षे कार्यकाल पूरै असफल, चरम अनियमितता र सत्ताकाे दुरुपयाेग’

 असार ३१, २०७९ शुक्रबार १५:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले चरम अनियमितता र सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएको छ । 

नेकपा एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आज शुक्रवार च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी ठूलो मात्रामा बजेट रकमान्तर गराएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चरम अनियमितता र सत्ताको दुरुपयोग गरेको बताएको हो । आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रालयले ठूलो मात्रामा बजेट रकमान्तर गराएर आर्थिक अपचलन र पदीय दुरुपयोग गरेको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेशकुमार भट्टराईले बताउनुभयो । 

एमालेका सचिवसमेत रहनुभएका उहाँले सरकारको एक वर्षे कार्यकाल पूरै असफल भएको पनि बताउनुभयो । चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयमा मात्रै एक अर्ब २२ करोड रुपैयाँ बेरुजु आएको उल्लेख गर्दै एमालेले सरकार आर्थिक अनुशासनमा पनि असफल भएको आरोप लगाएको छ । विभागका प्रमुख भट्टराईले भन्नुभयो, ‘आर्थिक वर्ष सकिन तीन दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेट रकमान्तर गर्नु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दुरुपयोग हो । आर्थिक वर्ष २०७८/०७९ मा स्वास्थ्य मन्त्रालयको बेरुजु एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसले आर्थिक अनुशासन र सुशासनको असफलतालाई स्पष्ट गर्दछ ।’

एमालेले संसदीय समितिहरूमा समेत छलफल नगराइ स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी विधेयक धमाधम पारित गरिरहेको भन्दै सरकारप्रति आक्रोशसमेत व्यक्त गरेको छ । स्वास्थ्य क्षेत्रको अनुसन्धानसमेत कमजोर हुने गरी सरकारले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन २०६६ र औषधि ऐन २०३५ संशोधन गरेको उल्लेख गर्दै विभागका प्रमुख भट्टराईले यसमा आपत्ति जनाउनुभयो । 

सरकारले कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई अझै जोखिम भत्ता उपलब्ध नगराएको भन्दै एमालेले असन्तुष्टि जनाएको छ । विभागका प्रमुख भट्टराईले सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी मिलानको कामलाई अघि नबढाएको आरोपसमेत लगाउनुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया