बङ्गलादेशले भारतबाट बिजुली सस्तोमा पाउँछ भने नेपालकाे किन किन्छ ? : घिसिङ

 भदौ ८, २०७९ बुधबार २०:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत् महँगो भए भारत र बङ्गलादेशमा निर्यात नहुने बताउनुभएको छ । 

आज बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगङ्गा जलविद्युत् आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै घिसिङले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत् आयोजना बनाउने क्रममा सरकारको नीति नियमका कारण परियोजना महँगो हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जलविद्युतलाई कति सस्तो बनाउने भन्ने कुरा नेपाल सरकारकै गतिविधिले गर्छ । जलविद्युत् सस्तो भयो भने भारत र बङ्गलादेशमा निर्यात हुन्छ । भारतको भन्दा नेपालको जलविद्युत् महँगो भयो उता निर्यात हुँदैन । यसरी नै हामीले आयोजनाहरू मँहगो बनाउँदै जाने हो भने जनतालाई पनि महँगो पर्छ । नेपालको विद्युत् निर्यात हुन पनि गाह्रो पर्छ । बङ्गलादेशले भारतबाट बिजुली सस्तोमा पाउँछ भने नेपालकाे किन किन्छ ? त्यसैले यो गम्भीर रूपले हेनुपर्ने विषय हो ।’

घिसिङले ५० अर्बको तनहुँ जलविद्युतमा झन्डै तीन अर्ब वन र सरकारी जग्गामा तथा निजी जग्गामा तीन अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताउनुभयो । उहाँले सरकारकै जग्गाका लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने बिजुली महँगो हुनुभएको बताउनुभयो । 

कार्यकारी निर्देशक घिसिङले सरकारले नै आयोजनाहरू महँगो बनाउँदै जाने हो भने जलविद्युत् जनतालाई समेत महँगो पर्ने बताउनुभयो । प्राकृतिक स्रोत प्रयोग गरेमात्रै जलविद्युत् सस्तो पर्ने हुँदा स्रोतहरूको प्रयोग गर्ने नीति आवश्यक रहेको उहाँकाे भनाइ छ । उहाँले कालीगण्डकीको कुनै पनि स्रोत प्रयोग गर्न नपाए कालीगण्डकी काेरिडोरमा कुनै पनि परियोजना सस्तोमा बन्न नसक्ने बताउनुभयो । घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकताअनुसार प्रयोग गरेमात्रै त्यसबाट पैसा आउने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया