अझै मासिक ६१ करोड घाटामा छौँ : आयल निगम

 भदौ १७, २०७९ शुक्रबार ९:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य बढेर आएको भन्दै गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बैठकले हिजो डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, हवाइ इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । पेट्रोल अहिले लिटरको १८१ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ, हवाइ इन्धन बाह्यतर्फको एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८ सय रुपैयाँ छ ।

निगमका अनुसार  एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३ सय ७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपछि पनि एक महिनामा ६१ करोड रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ । पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आईओसीलाई भुक्तानी गर्दा पनि अस्ति बुधबारसम्म झण्डै २१ अर्ब तिर्न बाँकी रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

आईओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको उहाँको भनाइ छ । सञ्चित वचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गएको असार अन्तिममा निगमलाई  सात अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत तीन अर्ब रुपैयाँ ऋण लिएको थियो ।
 

 


अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया