प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचार रोक्न सकिन्छ : प्रचण्ड

 भदौ २१, २०७९ मंगलबार १३:५९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कैलाली – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिने दाबी गर्नुभएकाे छ । मङ्गलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।   

अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासकीय प्रणाली नागरिक र देशकाे आवश्यकताकाे अनुकूल नरहेको भन्दै यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीका कारणले भ्रष्टाचार धेरै मौलाएको उल्लेख गर्नुभयाे । उहाँले निर्वाचन र शासन प्रणालीमा सुधार हुन आवश्यक रहेको बताउँदै यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान नदिने जिकिर पनि गर्नुभयो । 

उहाँले भन्नुभयाे, ‘हाम्रो निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकताको अनुकूल छैन । यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाउने कारण त्यसैभित्र लुकेको छ । त्यसैले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गर्नुपर्छ । यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान दिँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने मात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिन्छ । यो प्रमाणित भइसकेको छ ।’ 

यस्तै कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले संसद्को आयु लम्ब्याउनेतर्फ जान नहुने बताउनुभयाे । संसद्को आयु लम्ब्याउने कुरा आजै संसदबाट फिर्ता हुने उहाँले बताउनुभयो । प्रमुख सचेतकहरूले केही प्राविधिक समस्याका कारण यस्तो सोचेको भए पनि संसद्को आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘संसद्काे आयु लम्ब्याउनेतिर जानु हुँदैन भन्नेमा गठबन्धनले छलफल गरिसकेको छ । मङ्सिर ४ गते चुनाव हुन्छ, मनोनयनपछि संसद् रहँदैन ।’

अध्यक्ष प्रचण्डले विगत ५ वर्षमा सरकारले नागरिककाे आशाअनुसारकाे काम गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले वाम एकतापछि आफूले धेरै ठूलो सपना देखेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेकोले नागरिकका सपना पूरा गर्न नपाएको दाबी गर्नुभयाे । उहाँले देशमा राजनीतिक स्थिरताको आवश्यकता रहेको उल्लेख गर्दै चुनावपछि बन्ने सरकारले नागरिकका सपना पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया