सुबिन भट्टराईकाे उपन्यास 'इजाेरिया' पाठकका हातबाट लाेकार्पण

 भदौ २५, २०७९ शनिबार ७:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लोकप्रिय लेखक सुबिन भट्टराईको नयाँ उपन्यास 'इजोरिया' काे लोकार्पण गरिएको छ । किताब जात्राका अवसरमा काठमाण्डाैका प्रज्ञा प्रतिष्ठान डबलीमा शुक्रवार आयोजित विशेष कार्यक्रममा पाठकका हातबाट 'इजोरिया' लोकार्पण गरियो । कार्यक्रममा सहभागी दर्शकलाई आ–आफूले लिएका पुस्तक प्रदर्शन गर्न लगाएर पुस्तक सार्वजनिक गरिएको हो । 

फरक किसिमले पुस्तक लोकार्पण गर्न यस्तो शैली अपनाइएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ । कार्यक्रममा लेखक भट्टराईसँग कवयित्री अस्मिता गौतमले अन्तर–संवादसमेत गरेकी थिइन् । साथै गायिका समृद्धि राईले साङ्गीतिक प्रस्तुतिसमेत दिएकी थिइन् ।   

उपन्यास 'समर लभ' र 'साया' बाट चर्चित लेखक भट्टराईले पछिल्लो समय आफ्नो लेखनमा थप विविधता ल्याइरहेका प्रकाशक फाइन प्रिन्टका अजित बरालले बताए । ‘सुबिनजीका प्रत्येक नयाँ पुस्तक मलाई अघिल्ला पुस्तकभन्दा पृथक लाग्छन् । 'इजोरिया' सम्म आइपुग्दा त उनी पूर्ण अर्कै लेखक भएर देखापरेका छन्’, बरालले भने, ‘यौन हिंसाका घटना बढिरहेको समयमा उहाँकाे नयाँ उपन्यास एकदम सामयिक लाग्छ । यसले यौन हिंसाबारे बोल्न मानिसलाई उत्प्रेरित पनि गर्छ ।’ 

सुबिन भट्टराई नेपालका सर्वाधिक बिक्री हुने लेखक हुन् । प्रायः 'बेस्ट शेलिङ' पुस्तकका लेखकलाई झैँ उनका पुस्तकलाई पनि सस्तो मनोरञ्जन भनेर आलोचना गरिन्छ । तर आफूलाई उनको लेखाइ ‘साहित्यिक लेख्ने’ भनेर चिनिएका लेखकहरूको लेखनभन्दा पनि राम्रो लाग्ने बरालको दाबी छ ।  

कार्यक्रममा लेखक भट्टराईले आफ्नो उपन्यास 'इजोरिया' बहुआयामिक कथा रहेको बताए । परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई आफूले विषयका रूपमा लिएको उनको भनाइ छ । ‘मैले उपन्यासमा मित्रताको सुगन्धलाई समेटेको छु । यहाँ महिलाका पीडा छन् । तिनका सङ्घर्ष पनि छन् । प्रेम र वियोगका झिना रेखा पनि छन्’, उनले भने ।  

भट्टराईले यसअघिका सबै पुस्तक लगभग काठमाण्डाै केन्द्रित भएर लेखे । उनका पात्र पनि सहरकेन्द्रित नै भए । यस पटक भने उनी कथा टिप्न मधेस पुगेका हुन् । ‘यस पटक केही फरक गरौँ, केही फरक भूगोलको कथा रचौँ भन्ने लाग्यो । केही चुनौती आफैँलाई दिएँ । र झरेँ मधेसतिर, केही फरक विषयको फुर्को समातेर’, लेखक भट्टराईले भने, ‘फरक गर्ने प्रयत्न गर्दागर्दै पनि मैले मान्छे–मान्छेबीचका सम्बन्धका विभिन्न पक्ष केलाउने कामलाई यहाँ आएर छाडेको छैन । झन् गहिराइमा पसेर गरेँ भन्ने लागेको छ ।’ 

कथा जुन भूगोलको भए पनि, जहाँको लेखिए पनि 'इजोरिया' को कथामा उल्लिखित समस्या एउटै भूगोलको मात्र होइन, यो विश्वभरकै समस्या हो । हामीलाई उपन्यास पढ्दा यहाँका पात्र केवल प्रतिनिधि मात्र हुन् झैँ लाग्छ । कथामा भएका पात्रका भावको त कुनै भूगोल र सिमाना नहुँदो रहेछ भन्ने पनि अनुभूति हुन्छ । 

‘त्यसैले आफूले कहिल्यै प्रवेश नगरेको, नबुझेको मिथिलाको परिवेशमाथि लेख्नु चुनौती त थियो नै’, लेखक भट्टराईले आफ्नो लेखन अनुभव सुनाए, ‘तर त्यहाँ बस्दै जाँदा, विभिन्न साथीभाइ, अग्रज सबैसित सङ्गत हुँदै जाँदा त्यो चुनौती प्रिय र रूचिकर बन्दै गयो । जनकपुर मेरो दोस्रो घर झैँ लाग्न थाल्यो । जनकपुरले पनि मलाई बिछट्टै स्नेह दियो । बारम्बार गइरहन मन लाग्ने बनायो । पुस्तक लेखिइसकियो तर अब पनि वर्षमा एक/दुई पटक जान्छु भन्ने प्रतिबद्धता आफैँमा गरेको छु ।’

सुबिन भट्टराईका पाठकलाई थाहै छ— उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । 'कथाकी पात्र', 'समर लभ', 'प्रिय सुफी' हुँदै 'इजोरिया' सम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध–साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै 'कम्फर्ट जोन' मा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ 'जोन' चुमेर चमत्कृत हुनेछन् । 

इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको 'म्युजिकल' महाकथा हो ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया