ग्लोबल आईएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तरक्रिया कार्यक्रम आयोजना, नेपालमा लगानी गर्न आग्रह

 भदौ ३०, २०७९ बिहीबार ८:५१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आईएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । 

कार्यक्रममा ग्लोबल आईएमईले सिओलमा शाखा सञ्चालन गर्न प्रकृया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन नेपालीहरुलाई आग्रह समेत गरेकाे थियाे । 

कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा देशको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्त्व रहेको बताउनुभएको छ । अर्थमन्त्री शर्माले कोरियामा रहेका गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गर्नुभएको छ ।

“देशमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव रहेको छ । अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ्ग प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईँहरुले सहजीकरण गर्नुपर्यो,” उहाँले भन्नुभयो ।

द्रूत आर्थिक विकास र सम्मृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको बताउँदै उहाँले कोरियामा रहेका नेपालीहरुलाई देशमा वैदेशिक लगानी र नयाँ प्रविधि भित्र्याउन पहल गर्न आग्रह गर्नुभयो । 

कोरियामा ग्लोबल आईएमई बैंकले शाखा स्थापनाको प्रकृया अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न देशहरुमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनकालागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने बताउनु भयाे । साथै उहाँले विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रकृया सुरु गरेकोमा ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिनुभएको छ। 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गर्नुभएको छ । 

आईएमई समूहले गैर आवासीय नेपालीहरुसँगको सहकार्यमा लमजुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न गरेको उहाँले बताउनुभयाे ।उहाँले पर्यटन, केबलकार, होटल, जलविद्युतलगायत अरु धेरै परियोजनाहरु पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासङ्घले पनि गैर आवासीय नेपाली सङ्घसँगको सहकार्यमा केही आयोजनाहरुमा काम गर्न सकिने बताउनुभयो ।

उहाँले ग्लोबल आईएमई बैंकले सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाकाे प्रकृया सुरु गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनको लागि स्वीकृति पर्खिरहेको बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया