बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाढी : दर्जनौँ बस्ती डुबानमा

 असोज १, २०७९ शनिबार १०:२७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - लगातार परेको पानीले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाढी आएको छ । बर्दियाको बबई, कर्णाली र अन्य साना–ठूला खोलामा पानीको बहाव उच्च भएको छ ।

डुबानका कारण ठाकुरबाबा नगरपालिका—७ र ५ मा ३५ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले बताउनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाढी गाउँमा पस्दा ७ वडाका एक सयभन्दा धेरै घर डुबानमा परेका छन् । नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीमा माछा मार्ने र काठ ओसार्ने काम नगर्न भनिएको छ । 

त्यस्तै कैलालीको कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पसेको छ । ती क्षेत्रमा पाँच सयभन्दा धेरै घर डुबानमा परेका छन् । बाढी बस्तीमा पस्दा प्रभावित भएकाहरुको उद्धारकाे काम भइरहेको प्रहरीले जनाएको छ ।

बाँकेको राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेपछि तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ । कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जल सतह खतराको बिन्दु पार गरिसकेकोले नदी वरिपरिका दर्जनौँ गाउँ बस्ती बाढीको जोखिममा रहेकोले सतर्क रहन साइरन बजाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

बाँके, दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले राप्ती नदीले खतराको बिन्दु पार गरेको हो । जोखिम बढेको र आवश्यक परेमा हेलिकप्टरलगायतलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सम्भावित बाढीलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारी गरिएको र सुरक्षा निकाय पनि तयारी अवस्थामा राखिएको बताउनुभयो।

कञ्चनपुरमा पनि वनहरा र दोदा नदीमा आएको बाढीले दर्जनौँ बस्तीहरु डुबानमा परेका छन् । कञ्चनपुरका दुई सयभन्दा धेरै घर परिवार विस्थापित भएका छन् । कञ्चनपुरका कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा दुई सयभन्दा बढी परिवार विस्थापित भएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कृष्णपुरको मछेली नदी र शुक्लाफाँटाको वनहरा नदीमा बाढी आएको हो । अहिले मछेलीमा भन्दा पनि वनहरा नदीमा पानीको बहाव बढी छ । विस्थापित परिवारलाई नजिकैको विद्यालयमा सारिएको छ । विस्थापित परिवारलाई नेपाल प्रहरी, नेपाली सेना, एपीएफ, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया