काभा भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा हेल्प नेपाल , आज पनि ...
मंसिर २७, २०८१ बिहिबार
कालीकाेट - असोज २३ गते दिनभर पानी परिरहेको थियो । ११ बजेतिर हामी मलामी जान निस्क्यौँ । तिलानदी पुग्दा ठूलो पानी परिरहेको थियो । वडा नं. ३ का वडा अध्यक्ष मेरो दाजु परबहादुर शाहीसहित एक सयभन्दा बढी मलामी थियौँ ।
गाउँको तल खोल्सो परेको ठाउँ र ओत लाग्न मिल्ने ठाउँ थियो । हामी सबैको सल्लाहअनुसार नदी किनारमै रहेको दाड (ओत लाग्ने ठाउँ) नजिकै शव जलाउने कुरा भयो । खोल्सो र साँघुरो ठाउँ भएकाले त्यहाँ हामी सबै अटेनौँ । केही अलि माथि डाँडामा बसेका थियौँ । केहीले तल आगो जलाउने काम गर्दै थिए । ठूलो पानी परेकाले मलामीमध्ये केहीले शवमाथि प्लाष्टिक ओढाएर शव जलाउन सहयोग गर्दै थिए ।
त्यहीँ नजिकै धानखेतमा सिँचाइको लागि गाउँको बीचबाटै कुलो लगिएको छ । गाउँभन्दा अझ माथि पानीको मुहान छ । गाउँकै पूर्वतिर सानो खहरे खोला छ । यी दुवै खोला गाउँबाट अलि तल कर्णाली राजमार्ग नजिकै गएर मिसिन्छ ।
तल शवको अन्त्येष्टि भइरहँदा मुहान माथिबाट र खहरे खोलाबाट पहिरो आयो । हामी अलि डाँडामा भएकाले माथि कर्णाली राजमार्गबाट ‘पहिरो आयो भाग भाग...’ भनेको सुनेर भाग्यौँ । हामीले शव जलाउँदै गरेको आफन्तलाई पनि ‘पहिरो आयो भाग’ भनेर करायौँ । उनीहरुमध्ये कोही ओत लाग्ने ठाउँमा थिए, कसैले पानी छेक्न प्लाष्टिक ओढेर बसेका थिए । त्यसैले उनीहरुले सुनेनन् । हेर्दाहेदै वडाध्यक्षसमेत रहेका मेरा दाजुसहित १३ जना पहिरोमा बेपत्ता भए ।
जो जति पहिरोमा बेपत्ता भए, सबै सामाजिक सेवामा सक्रिय व्यक्ति हुन् । उहाँहरुलाई पहिरोले लगेपछि हामी गाउँ आयौँ । गाउँमा रुवाबासी चल्यो । खहरे खोलामाथि ठूलो चट्टानी भिर छ । त्यही भिर भत्किएर सडकमा मिसिएछ । अनि सडकको पानी खहरे खोलामा मिसिएर ठूलो भएछ र पहिरो खसेको रहेछ ।
यसरी खसेको पहिरोमा बेपत्ता भएकामध्ये प्रशान्त शाही एकल आमाका छोरा हुन् । उनी सामाजिक काममा सधैँ अग्रपङ्क्तिमा खटिन्थे । उनी, मेरा काका र अरु आफन्त गरेर १३ जना अझै बेपत्ता छन् । गाउँ शोकमा छ ।
(पहिरोमा बेपत्ता तिलागुफा नगरपालिका-३ का वडा अध्यक्ष परबहादुर शाहीका भाइ शिवराजसँग गरिएको कुराकानीमा आधारित)
तस्बिर : सुशील देवकोटा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।