हिजबुल्लाह हटाउने समय सकिएलगत्तै दक्षिणी लेबनानमा इजरायली से...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।
आज आइतवार काठमाण्डाैमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएको हो । उहाँले सङ्घ, प्रदेश र पालिकाकाे चुनाव निष्पक्ष ढङ्गले सम्पन्न भएको उल्लेख गर्दै अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । प्रधानमन्त्री देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि पालिकाकाे सबलीकरण हुने गरी कानुन निर्माण गर्ने काममा ढिलाइ गर्न नहुने बताउनुभयाे ।
जनसेवाको कामलाई प्रभावकारीरूपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाइ, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेलाे सरकार लगायतका सबै सार्वजनिक सेवालाई सबै तहमा लागू गर्नुपर्नेमा पनि प्रधानमन्त्री देउवाको जोड थियो । उहाँले भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पनि पालिकाका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘भर्खरैमात्र हामीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भयरहित वातावरणमा सम्पन्न गरेका छौँ । यसैगरी गएकाे वैशाखमा स्थानीय तहको चुनाव गर्याैँ । यसले देशमा उत्तरदायी नेतृत्वको विकासलाई थप सबलीकरण गरेको छ । अबको हाम्रो प्राथमिकता सङ्घीयता, लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको स्थानीय सरकारको सबलीकरण गरी नागरिकमा सुशासन र विकास अनुभूति गराउने हुनु पर्दछ । सेवा प्रवाहसम्बन्धी कानुन, कार्यविधि, मापदण्ड निर्माण गरि छिटो र छरितो सेवा प्रवाह गर्न सक्नु पर्दछ । सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाएर भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न स्थानीय निकायलाई विशेष अनुरोध गर्दछु ।’
प्रधानमन्त्री देउवाले देशमा विद्यमान गरिबी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कुरीतिको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्ने गरि पालिकाकाे क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने पनि बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य अनुरूप अघि बढ्ने गरि योजना तर्जुमा गर्न पालिकाले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले पालिकाकाे प्रतिष्ठालाई अघि बढाउने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काम गरिरहेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाललाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।