राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि सकिदैन : देव गुरुङ

 पुष १, २०७९ शुक्रबार १५:५९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताउनु भएको छ । 

देशमा आर्थिक  तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाइ थियो । संवाद डबलीले शुक्रबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यो व्यवस्था र प्रणाली रहुन्जेल देशको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । उहाँले राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदल भित्र कहीँकतै पनि कुरा नउठेको पटकपटक दोहोर्‍याउनुभयो ।

महासचिव गुरुङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क समेत गर्नु भयो । महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दाबी रहेको पनि बताउनु भयो । तर संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था देशमा विद्यमान रहेको उहाँले बताउनु भयो ।

महासचिव गुरुङले माओवादी विचारले देशलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने जिकीर समेत गर्नुभयो । उहाँले सरकारको नेतृत्व, देशको नेतृत्व देशलाई स्वाधिन ढंगले अघि बढाउने गरी खोज्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया