नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
बझाङ – खप्तडछान्ना गाउँपालिका–४ की चाखुडीदेवी रोकाया अहिले ९६ वर्षमा पुग्नुभयो । महिलाहरुले भुवा खेलेको उहाँले कहिल्यै देख्नुभएको थिएन । सानोमा गाउँका पुरुषहरु जम्मा भएर यो खेल खेलिरहँदा आफूहरु टाढैबाट हेर्ने गरेको उहाँ सम्झिनुहुन्छ । तर अहिले पछिल्लो केही वर्षयता महिलाहरु पनि यो नाचमा सहभागी हुन थालेका छन् ।
राेकाया सम्झिनुहुन्छ, ‘हामी सानो हुँदा बुवा, दाजुभाइसँगै भस्सो खेलमा लाग्ने मन हुन्थ्यो । गाउँका बुढापाका र आमा, दिदीहरुले छोरी मान्छेहरुले भस्सो खेल्न हुँदैन । देउता रिसाउँछन् । राम्रो हुँदैन भन्दै काखमा लिनुहुन्थ्यो ।’
भुवालाई पर्व, खेल र नाचको रुपमा पनि लिइन्छ । यसलाई भस्सो पनि भन्ने गर्छन् । भस्सो खेल्ने मुख्य ठाउँलाई भुवाखाँडा भन्छन् । भुवाखाँडामा भस्सो सुरु गरेर टाेली गाउँतिर जान्छ र घरघरमा खेल्छ । पुरुषहरु भस्सो खेल्दै छिमेकी गाउँतर्फ गएपछि महिलाहरुले भुवाखाँडामा जम्मा भएर चाँभाई, डेउडा खेल लगाएर रमाइलो गर्ने चलन थियाे । तर पुरुषहरुकाे टाेलीमा सहभागी भएर तरवार बाेकेर, खुट्टाकाे चालमा महिलाहरु सहभागी हुन सक्दैन थिए ।
रोकायालाई अहिले पनि त्यो दिनहरुको सम्झना ताजै छ । उहाँ सम्झिनुहुन्छ, ‘पुरुषहरुले भस्सो खेलेको पनि खुलेर हेर्न पाइँदैन थियो । महिलाहरु निकै टाढाबाट मात्रै भस्सो हेर्ने गर्थे । ढोका लगाएर, घरको झ्याल, झ्याङबाट लुकेर हेर्ने परम्परा थियो । तर अहिलेका महिलाहरु त पुरुषसँगै भस्सो खेल्छन्, कलियुग लाग्यो बाबु ।’
राेकायालाई महिलाले भस्सो खेलेको हेर्दा अचम्म लाग्छ । पुरुषसँगै मिहलाहरु कसरी खेल्न सकेका होलान् भन्ने लाग्छ उहाँलाई । यस्तै उहाँ आफूहरुले पशुले झैं बन्देजमा रहेर जीवन बिताउनुपरेकोमा पछुतो पनि मान्नुहुन्छ । भन्नुहुन्छ, ‘अहिलेका महिला त कति भाग्यमानी रैछन्, हामीले त यसरी खुलेर जीउन काँ पायौँ ?’
अझै पनि सबै ठाउँका महिलाहरुले त भस्सो खेल्दैनन् । तर खप्तडछान्ना–४ बाँसकाँटीयाका महिलाहरु भने भस्सो खेल्न गाउँगाउँ पुग्ने गरेका छन् । भस्सो खेल्न गाउँ पुग्नुभएकी ऐश्वर्य आधारभूत विद्यालयकी प्राध्यानाध्यापक बासमती खत्रीले भन्नुभयो, ‘महिला पुरुष बराबर भने पनि समाजमा खुलेर महिलाहरु बोल्न नसक्ने परिपाटी अझै छ, यसको अन्त्य गर्नका लागि यहाँका महिलाहरु अघि सरेका हुन् ।’
यस्तै मौलिक पर्व भुवाको संरक्षणका लागि खप्तडछान्ना ४ का युवादेखि वृद्ध र महिला सबै यसमा लागेका छन् । यही उद्देश्यले भुवाको आयोजना गरेको स्थानीय अगुवा पुष्पराज रोकाया बताउनुहुन्छ । भुवा खेलेपछि प्राप्त रकम गाउँ नजीकै रहेको महालिङ्ग देवताको आधुनिक मन्दिर निर्माणमा लगाइने उहाँले बताउनुभयो ।
हरेक वर्ष पुस महिनामा यहाँ भुवा पर्व मनाइने गरिन्छ । युद्धको समयमा कौरव र पाण्डवबीच भएको भिडन्तको कथालाई एक समूहले लयात्मक शैलीमा भट्याउने र अर्काे समूहले हात र खुट्टाको चालमा नाच्ने गर्दछन् ।
कुरुक्षेत्रको युद्ध भन्दा पहिले पाण्डवहरु बनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निर्माणका काम गर्नका लागि स्थानीयको सहभागिता जुटाएको र विभिन्न गाउँमा भुवा पर्वको आयोजना गरि युद्ध अभ्यास गराएको कथाहरु पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ । भुवाको विशेष आकर्षककाे रुपमा चाली नाच, ठाडो भस्सो, भारी खेल जस्ता नाच र गायनहरु पर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।