नेपाली श्रमिकलाई सेवा सुविधामा विभेद नगर्ने र तलब बढाउने मलेसियाको नयाँ श्रम नीति

 माघ २०, २०७९ शुक्रबार १६:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिकलाई स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

तीन दिने नेपाल भ्रमणमा रहनुभएका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको श्रम मन्त्रालयको टोलीसँग भेटवार्ता गर्दै नेपाली श्रमिकलाई ज्यालामा विभेद नगर्ने भन्दै मलेसियाका स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । 

छलफलपछि मलेसियन गृहमन्त्री फुद्दिन नासुसनले मलेसियाले छिट्टै नयाँ श्रमिक नीति बनाउने र यो नीतिमा श्रमिकको ज्यालामा वृद्ध गरिने बताउनुभएको छ । मलेसियामा काम गरिरहेका तर विभिन्न कारणले कानुनी हैसियतमा नरहेका नेपालीहरूका लागि ‘रि क्यालिब्रेसन प्लान’ अघि सारेको पनि उहाँले जानकारी दिनुभयो । 

‘मलेसियाले नयाँ श्रम नीति बनाउँदै छ, आजको भेटमा पनि यही नीतिको बारेमा छलफल भएको छ ’ गृह मन्त्री फुद्दिन नासुसनले भन्नुभयो ‘हामी श्रमिक अनुकूलको नीति निर्माण गरिरहेका छौँ ।’

अहिले २ लाख ८५ हजार ७६८ जना नेपालीहरू मलेसियामा कार्यरत रहेको पनि उहाँले जानकारी दिनुभयो । जसमध्ये उत्पादनमूलक क्षेत्रमा १ लाख ८५ हजार कार्यरत रहेको र बाँकी ७० हजार जना नेपालीहरू मलेसियामा सुरक्षा गार्डका सुरुमा काम गरिरहेको उहाँको भनाइ छ । 

शुक्रबार काठमाण्डौस्थिती सोल्टी होटलमा भएको भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने, नेपाल र मलेसियाबीच भएको श्रम समझदारी नवीकरण लगायतको विषयमा समेत छलफल भएको श्रम मन्त्री अर्यालले जानकारी दिनुभयो ।  

‘मलेसियासँगको सम्बन्ध हामी अझैँ अगाडि बढाएर जानेछौँ, श्रम समझदारी नवीकरण गर्ने बेला भएको छ, हामीले त्यसलाई अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गरेर आवश्यकता अनुसारको सुधार गर्नेछौँ’ मन्त्री अर्यालले भन्नुभयो । 

बिहीबार बेलुका १५ सदस्यीय टोलीसहित मलेसियन गृह मन्त्री फुद्दिन नासुसन नेपाल आउनुभएको हो । 

‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ अन्तर्गत मलेसियाले नेपालसहित विभिन्न १५ देशबाट तुरुन्तै ५ लाख श्रमिक लैजाने योजना बनाएको छ ।

यसबारेमा पनि मलेसियाले नेपाललाई औपचारिक रूपमा जानकारी दिएको छ । गृहमन्त्री फुद्दिन नासुसनले  राष्ट्रपछि विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया