सुरक्षा गार्डमा खटिने नेपालीलाई काम अनुसार तलब प्रदान गर्न मलेसियालाई नेपालको अनुरोध

 माघ २०, २०७९ शुक्रबार १७:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले मलेसियामा सुरक्षा गार्डमा खटिने नेपालीलाई काम गरेको समय र क्षमता अनुसार सम्मानयोग्य तलब प्रदान गर्न अनुरोध गरेको छ ।

तीन दिने नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमाइलसँग शुक्रबार काठमाण्डौमा भएको भेटवार्तामा मलेसियामा कार्यरत सुरक्षा गार्डलाई खटिएको समय अनुसार तलब प्रदान गर्न, मलेसियामा कार्यरत सबै श्रमिकलाई श्रम समझदारी अनुसार र करार सम्झौता अनुसार सेवा-शर्त तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

यसका साथै नेपालले मलेसियालाई त्यहाँ कार्यरत नेपालीहरूलाई मलेसियाको सामाजिक सुरक्षा प्रणालीमा पूर्ण रूपमा आबद्ध गराउन, औपचारिक माध्यमको प्रयोग गरी रेमिट्यान्स नेपाल पठाउनका लागि मलेसियास्थित बैंक तथा वित्तीय संस्थाहरूलाई सहजीकरण गरिदिन पनि भनेको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका गृह मन्त्री  सैफुद्दिन नासुसन इजमाइलबीच शुक्रबार भेटवार्ता भएको हो । भेटमा श्रम मन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको सेवा-र्शत, स्वास्थ्य सुविधा तथा कार्य वातावरणका सम्बन्धमा स्वदेशी तथा विदेशी श्रमिकबीच समान व्यवहार गर्न पनि अनुरोध गर्नुभएको छ । 

छलफलको क्रममा मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसनले नेपाल र मलेसियाबीच भएको श्रम समझदारी कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको श्रम मन्त्रालयले जनाएको छ । 

यसका साथै मलेसियामा गैरकानुनी हैसियतमा कार्यरत श्रमिकहरूलाई कानुनी हैसियत प्रदान गर्ने गरी मलेसियाले ल्याएको 'फोरेन वर्करस इप्लोइमन्ट रिल्याक्सेसन' प्लानमा सहयोग गर्न पनि मलेसियाले नेपाललाई अनुरोध गरेको छ। 

मलेसिया र नेपालबीचको द्विपक्षीय श्रम समझदारीको नवीकरण प्रक्रिया अगाडि बढाउनका यसै वर्ष नेपालमा संयुक्त कार्यसमितिको बैठक समेत बस्ने भएको छ । त्यसका लागि मलेसियाले प्रतिबद्धतासमेत जनाएको श्रम मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया