एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डौ – जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरूले सरकारले खाद्य सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।
जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरूको भनाइ छ । देशका धेरैजसो ठाउँमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्या उत्पन्न हुनसक्नेप्रति सरकारलाई सचेत गराएका हुन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नको सुरक्षामा जोड दिनुपर्ने बताउनुभयो । हिउँदे अवधिमा आवश्यक वर्षा नहुँदा आउँदा दिनमा जलवायुजन्य विपद्को जोखिमसमेत बढेर जाने भएकाले सरकारले समयमा नै विपद् पूर्वसूचना र विपद् पूर्वतयारी गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले हिउँदे वर्षा नहुँदा वायु प्रदूषण बढ्नुका साथै भोकमरीको अवस्था सिर्जना हुनसक्ने खतरा रहेको बताउनुभयो ।
विज्ञ डा. उप्रेतीले सरकारले समयमा नै खाद्यान्न जोहो गर्नुका साथै हिउँदे वर्षा नहुँदा पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पत्ति हुने नदीनालामा पानीको मात्रा कम हुने बताउनुभयो । उहाँले समुद्र सतहको तापक्रम औसतभन्दा कम हुनु, पश्चिमी वायु नबहनु, प्रशान्त महासागरको केन्द्र र समुद्रको पूर्वी दिशामा वायु कमजोर हुनुले पनि नेपालमा वर्षा हुन नसकेको बताउनुभयो । विज्ञ उप्रेतीले समुद्रको सतहको तापक्रम ५० वर्षपछिकै कम रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मङ्सिर १५ देखि फागुन १६ गतेसम्मको अवधि हिउँदे अवधि हो । यस अवधिमा औसत वर्षा ६० दशमलव १ मिलिमिटर हुनुपर्ने हो । तर अहिलेसम्म ७ दशमलव ९ मिलिमिटरमात्रै वर्षा भएको छ । यो भनेको १३ दशमलव १ प्रतिशतमात्रै हो । लगभग ८६ दशमलव ९ प्रतिशत वर्षा भएको छैन । त्यस्तो अवस्थालाई खडेरीको अवस्था भनिन्छ । फागुन १६ गतेसम्म पनि कडा खालको वर्षा हुने सम्भावना छैन । यो सुक्खा खडेरीको अवस्था हो । यसले हिउँदे बाली, पारिस्थितिकीय प्रणाली, वन सम्पदादेखि सबैमा असर हुन्छ । त्यो असर भनेको हाम्रो जीविकोपार्जनमा पर्ने असर हो । यसले कृषि प्रणालीमा पनि असर गर्छ । कृषि उत्पादन घट्छ । खाद्य सुरक्षामा पनि असर गर्छ । खाद्य सुरक्षामा सरकारले ध्यान दिनुपर्छ । हिउँदे अवधिमा हुने उत्पादनको सुरक्षामा सतर्कता अपनाउन आवश्यक छ । सिँचाइ प्रणालीमा सुधार गर्नुपर्ने अवस्था छ ।’
विपद् विज्ञ उप्रेतीले फागुन १६ गतेसम्म पनि ठूलो वर्षा हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।