आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस : विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनु पर्नेमा जोड

 फागुन २४, २०७९ बुधबार ७:३८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाण्डौ – आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ ।

दिवसको यस वर्षको नारा डिजिटल : आविष्कार र प्रविधिमा लैंगिक समानता भन्ने रहेको छ । प्रविधिमा समानता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्र संघले डिजिटल दुनियाँलाई सुरक्षिता, थप सहभागितामूलक र समतामूलक बनाउनका लागि सबै देशका सरकार, अभियन्ता र निजी क्षेत्रलाई आग्रह गरेको छ । यस्तै, डिजिटल शिक्षालाई पनि अघि बढाउनु पर्ने आवश्यक्तालाई राष्ट्र संघले औँल्याएको छ ।

नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा तय गरेको छ ।

यो नाराले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारबाट प्राप्त अवसरमा महिलाको सहभागिता अभिवृद्धि गर्न जोड दिएको छ भने अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।

महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले उपलब्धि हासिल गरे पनि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा अझै धेरै काम हुन बाँकी छ ।

नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ । तर, अझै पनि महिलालाई नेतृत्व र जिम्मेवारी दिन आनाकानी हुने गरेको छ । पछिल्लो समय महिलाहरु आत्मनिर्भर र स्वाबलम्बि बन्दै गएका छन् ।

घर भित्र र बाहिरको कामको जिम्मेवारीले महिलामाथि भार भने बढ्दै गएको छ । यसैबीच, दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको छ ।

उहाँले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न दिवसले सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको छ ।

यस्तै, प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ । 

शुभकामना दिँदै उहाँले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न दिवसले थप प्रेरणा प्रदान गर्ने उल्लेख गर्नु भएको छ ।

यसैबीच, दिवसका अवसरमा नेपाल महिला चेम्बरले महिला उद्यमीलाई सम्मान गरेको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया