अबदेखि करार सम्झौता अनुसारकाे समय अवधि तोकी श्रम स्वीकृति प्रदान गरिने

 चैत १, २०७९ बुधबार १७:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले अबदेखि रोजगारदाता र श्रमिकबीच भएको करार सम्झौताको आधारमा अवधि तोकी श्रम स्वीकृति दिने भएको छ ।

यसअघि दुई वर्ष अवधिको श्रम स्वीकृति प्रदान गर्दा करार अवधि नसकिँदै पुनः श्रम स्वीकृति लिनु पर्ने र विदेशबाट श्रम स्वीकृति लिन श्रमिकले झन्झट खेप्न परेको भन्दै करार सम्झौता अनुसारको अवधि तोकेर श्रम स्वीकृति प्रदान गर्ने गरी मन्त्री स्तरीय निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

भिसाको अवधि छदै श्रम स्वीकृतिको अवधि सकिँदा बीचमा नै नेपाल फर्किनु पर्ने, विदेशमा बस्दा आफ्नो देशले दिएको श्रम स्वीकृति बिनै बस्नु पर्ने र विदेशबाटै श्रम स्वीकृति लिन पनि विभिन्न झमेला खेप्न परेको भन्दै मन्त्री स्तरीय निर्णयबाट रोजगारदाता  र श्रमिकबीचमा भएको करार सम्झौतामा उल्लेख भएको समय अवधि अनुसार नै श्रम स्वीकृतिको अवधि कायम गरिने व्यवस्था गरिएको हो । 

यस्तै सरकारले अनलाइन प्रणालीबाटै प्रदान गर्दै आएको पुनः श्रम स्वीकृति सेवा पनि विदेशमा रहेको नेपाली नियोगबाटै सहज रूपमा प्रदान गरिने भएको छ । संसारको जुनसुकै कुनाबाट अनलाइनमार्फत नै लिन मिल्ने भए पनि विविध कारणले श्रमिकहरू श्रम स्वीकृति नवीकरण कै लागि नेपाल आउन परेको र दुःख पाउनु परेको भन्दै यस्तो व्यवस्था गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम स्वीकृतिको अवधि सकिएको कारणले नै थुप्रै श्रमिकले विदेशमा भवितव्यमा परेर ज्यान गुमाउँदा, बिरामी हुँदा वा अङ्गभङ्ग भएको अवस्थामा सरकारबाट पाउने राहत र क्षतिपूर्तिसमेत नपाएको अवस्था छ । यही समस्यालाई मध्यनजर गर्दै विदेशमा रहेका बैङ्क खाताबाट श्रम स्वीकृति नवीकरण गर्दा तिर्नु पर्ने रकम समेत तिर्न मिल्ने व्यवस्था समेत गरिने श्रम मन्त्रालयको भनाई छ ।

त्यसका लागि मन्त्रालयले आफ्नो अनलाइन सिस्टमको थप विकास गर्न लागेको र मोबाइल एपमार्फत समेत यो सुविधा लिन सक्ने व्यवस्था गरिने जनाएको छ ।

अन्तिम अपडेट: पुस १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया