आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित

 वैशाख १८, २०८० सोमबार ७:४८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको शिकागोमा  ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।

विश्वका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो ।

विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको थियो । आज सार्वजनिक बिदा दिइएको  छ । यसैबीच, नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरले न्यूनतम पारिश्रमिक पाउने अवस्थामा सुधार भएको भए पनि त्यो पर्याप्त नभएको जनाएको छ । श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थासम्बन्धी श्रम अडिट प्रतिवेदन २०७९ सार्वजनिक गर्दै जिफन्टले अझै १५ दशमलव ३० प्रतिशत मजदुरले न्यूनतम पारिश्रमिक नपाएका जनाएको छ ।

यस्तै, वार्षिक पारिश्रमिक वृद्धि (ग्रेड वृद्धि) गर्ने प्रतिष्ठान बढ्नुको साटो घट्दै गएको प्रतिवेदनले देखाएको छ । श्रमिकहरुले  प्राप्त ज्यालाले जीवन धान्न नै मुस्किल पर्ने गरेको बताउँदै आएका छन्  । सरकारले श्रमिकको हकहितका लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको छ । तर, यो कार्यक्रममा अझै पनि धेरै श्रमिक समेटिन बाँकी छन् ।

यसैबीच, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा  शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो हकहित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको बताउनु भएको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनु भएको हो । 

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया