श्रीलंकाको सत्तामा राजापक्षेको पुनरागमनले भारतको ‘टाउको दुख्यो’

 कात्तिक १०, २०७५ शनिबार ९:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण एसियामा सामरिक महत्वका हिसाबले भारतको महत्वपूर्ण छिमेकी देश मानिने श्रीलंकाको राजनीतिमा शुक्रबार निकै नै उलटफेर भएको छ । 

एक नाटकीय घटनाक्रमपछि श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमास्रिघेलाई बर्खास्त गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । 

चीन समर्थकका रुपमा चिनिने राजापाक्षे सत्तामा आउने अड्कलबाजी लामो समयदेखि लगाइएको थियो । सन् २०१५ मा भारतले राजापाक्षेलाई सत्ताबाट बाहिर राख्न आफ्नो राजनीतिक प्रभावमार्फत सिरिसेना र विक्रमासिंघेबीच सम्झौता गराएको बताइन्छ ।

चीनसँग नजिकिँदै गएको श्रीलंकाबाट सशंकित रहेको भारतले यस्तो कदम त्यसबेला उठायो जतिबेला श्रीलंकाले सामरिक दृष्टिकोणले निकै महत्वपूर्णं मानिने हम्बनटोटा बन्दरगाह चीनलाई कैयौँ वर्षका लागि लिजमा दिने निर्णय गर्यो । त्यतिमात्रै होइन, तत्कालीन श्रीलंकाली राष्ट्रपति राजापाक्षेले चीनलाई कोलम्बोको बन्दरगाह बनाउने र चिनियाँ पनडुब्बी जहाजलाई श्रीलंकाको बन्दरगाहसम्म आउन पाउने अनुमति दिए । 

यसको बदलामा चीनले श्रीलंकालाई निकै ठूलोे धनराशी ऋणका रुपमा प्रदान गर्यो । अर्थशास्त्रीहरुका अनुसार चीनले दिएको ऋणमा अहिले श्रीलंकाको अर्थतन्त्र निकै नराम्रोसँग फसिरहेको छ । दक्षिण एसियामा बढ्दो चिनियाँ प्रभावलाई रोक्न भारतले हरसम्भव प्रयास गरिरहेको छ । पछिल्लो हप्ता मात्रै विक्रमासिंघे नयाँ दिल्ली आएका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए ।

राजापाक्षेसँग मोदीको दुई भेट

प्रधानमन्त्री विक्रमासिंघे यस्तोबेला भारत भ्रमणमा आएका थिए कि जुनबेला श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नाटकीय रुपमा भारतीय गुप्तचर संस्था ‘र’ ले आफ्नो हत्याको षड्यन्त्र रचेको आरोप लगाएका थिए । पछिल्लो समय भने उनले आफूले त्यस्तो नभनेको स्पष्टिकरण दिएका छन् ।

सिरिसेनाले बिमस्टेक सम्मेलनका क्रममा गएको अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग काठमाडौंमा भेटवार्ता गरेका थिए । सेप्टेम्बरमा राजापाक्षे पनि बीजेपी नेता सुब्रमण्यन स्वामीको निमन्त्रणामा भारत भ्रमणमा आएका थिए । त्यतिमात्रै होइन, आफ्नो श्रीलंका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले राजापाक्षेसँग भेटघाट गरेका थिए । मोदी र राजापाक्षेको भेट आश्चर्यजनक मानिएको थियो । 

चीन समर्थक राजापाक्षेको सत्तामा फर्किनु भारतको लागि टाउको दुखाई बन्नु स्वभाविक नै हो । त्यतिमात्र होइन, श्रीलंकामा फेरि एकपल्ट भारतविरोधी वातावरण बढेको छ । पछिल्लो हप्ता श्रीलंकाका बन्दरगाहसम्बन्धी मन्त्री महिन्दा समरासिंघेले भारतलाई पूर्व कन्टेनर टर्मिनल प्रयोग गर्न नदिने बताएका थिए । उनको यो बयान सन् २०१७ मा भएको दुई देशबीचको सम्झौताको उल्लंघन भएको भारतले बताएको थियो ।

सबै दल संवैधानिक तबरले अघि बढून् : अमेरिका

यसैबीच अमेरिकाले पनि श्रीलंकाको परिवर्तित राजनैतिक घटनाक्रमप्रति नजर राख्दै आएको छ । अमेरिकी विदेश विभागद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै दललाई संविधानअनुसार अघि बढ्न आग्रह गर्दछौँ । सबै दल हिंसाबाट टाढा रहेर उचित प्रक्रियाको पालना गरुन् । श्रींलकाली सरकारले मानवअधिकार। सुधार, जवाफदेहिता, न्याय तथा मेलमिलापप्रति आफ्नो वाचा पूरा गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’ भारतले भने अहिलेसम्म श्रीलंकाको पछिल्लो राजनैतिक घटनाक्रमप्रति आफ्नो प्रतिक्रिया दिएको छैन ।

सुरु भयो राजनैतिक संकट

श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पदबाट हटाएपछि ठूलो राजनैतिक संकट उत्पन्न भएको छ । विक्रमासिंघेले आफ्नो बर्खास्ती गैरकानुनी भएको बताउँदै आफू अदालत जाने चुनौती दिएका छन् । 

राजनैतिक विश्लेषकहरुका अनुसार सिरिसेनाको फैसलाले श्रीलंकामा संवैधानिक संकट निम्तिने छ । श्रीलंकाको संविधानको १९ औँ संशोधनका अनुसार बहुमत प्राप्त नभैकन सिरिसेनाले प्रधानमन्त्री विक्रमासिंघेलाई हटाउन सक्दैनन् । राजापक्षे तथा सिरिसेनाको पार्टीको सिट मिलाउँदा जम्मा ९५ सिट हुन्छ । विक्रमासिंघेको यूएनपी पार्टीसँग १०६ सिट रहेको छ जुन बहुमतभन्दा केवल सात सिट कम हो । 

-एजेन्सीकाे सहयाेगमा
 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया