इञ्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन त्रिविको निर्देशन : विद्यार्थी सङ्गठनसँग ५ बुँदे सहमति

 भदौ १४, २०८० बिहीबार ७:२९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले इञ्जिनियरिङ अध्ययन संस्थानलाई वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिएको छ । उपकुलपति धर्मकान्त बास्कोटासहित पदाधिकारी र आन्दोलन गर्दै आएका विद्यार्थी सङ्गठनबीच ५ बुँदे सहमतिपछि त्रिविले बढेको शुल्क फिर्ता लिन निर्देशन दिएको हो ।

हिजो भएको छलफलमा विश्वविद्यालयका तर्फबाट उपकुलपति बास्कोटा र ५ विद्यार्थी सङ्गठनका प्रतिनिधिलगायत सहभागी थिए । २६ वर्षदेखि शुल्क वृद्धि नहुँदा इञ्जिनियरिङका आङ्गिक क्याम्पस चल्नै नसक्ने अवस्था आएको भन्दै संस्थानले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी स्नातक तहको शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ पुर्याएको थियो । अब नयाँ शुल्क कायम भएपछि मात्रै आउँदो शैक्षिक सत्रको प्रवेश परीक्षा सञ्चालन गरिने भएको छ ।

विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिबाट शुल्कका विषयमा ७ दिनभित्र अध्ययन गरी प्रतिवेदन पेस हुनेछ । डिन कार्यालयका अन्य परीक्षा यथावत् सञ्चालन हुने सहमति पत्रमा उल्लेख छ । शुल्क वृद्धिको निर्णय फिर्ताको माग गर्दै विद्यार्थी सङ्गठनहरुले प्रदर्शन र आमरण अनसन गर्दै आएका थिए ।

सहमतिपछि शुल्क वृद्धि फिर्ता गर्न माग राखेर विद्यार्थी सङ्गठनले गर्दै आएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया