नेपालले स्कटल्यान्डलाई दियाे ७४ रनकाे लक्ष्य
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ ।
विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी मनाइएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । गएको साउन ३२ गतेदेखि शुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी आज सम्पन्न भएको हो ।
बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्लो वर्षमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृतीकर्मी रामशेखर शाक्यले बताउनुभयो । हरेक दिन दुईदेखि तीन सय धर्मावलम्बीको सहभागिता रहने गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ मनाएको उहाँले बताउनुभयो । यस पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म व्रतालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको शाक्यले जानकारी दिनुभयो ।
दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोचारण गरेर मठ, मन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ । गुँला पर्व भक्तपुर, काठमाण्डौ, ललितपुर, कीर्तिपुर, मध्यपुरथिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ ।
उहाँका अनुसार पर्वमा स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो । राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने प्रचलन छ ।
काठमाण्डौवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पललगायत पाटनका विभिन्न विहार/महाविहारमा पूजा गर्ने शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुर र मध्यपुरथिमिमा विभिन्न बहाः बहि, चैत्यलगायतको परिक्रमा गिरएको थियो ।
कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक र जनशक्ति अभावका कारण कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै पर्व मनाइएको गुरु बज्राचार्यले बताउनुभयो । उहाँले यस पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने जनाउँदै एक महिनाको अवधिमा कम्तीमा प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम गर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवम् मद्यपान नगर्ने, परस्त्री सम्पर्क गर्न नहुने उहाँले बताउनुभयो ।
सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्न सके दशशील पालना हुने बज्राचार्यको भनाइ थियो । भक्तपुरमा गुँला पर्वका अवसरमा भदौ ४ गते चाँगुनारायण, ६ गते साँखु बज्रयोगिनी, १३ गते काभ्रेपलाञ्चोकको नमोबुद्ध, २० गते बाँडेगाउँ, २७ गते ललितपुरको जलविनायक र कार्यविनायक र ३० गते आज यहाँका विभिन्न चैत्य र स्वयम्भू महाचैत्यको परिक्रमा गरी मनाइएको छ ।
गुँला पर्वमा स्थानीय महिलाले नेवारी पोशाक लगाएर परिक्रमा गर्ने प्रचलन छ । बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी, देवताकोसमेत परिक्रमा गर्ने प्रचलन रहेको बज्राचार्यले बताउनुभयो । आज बिहानैदेखि मध्यपुरथिमि, भक्तपुरका विभिन्न चैत्यमा नौ बाजा बजाएर गुँला पर्व सम्पन्न गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।