करण केसी र साेमपाल कामी 'आईएमई ग्रुप' काे ब्रान्ड एम्बेसडर

 असोज १८, २०८० बिहीबार २०:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र आइएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आईएमई डिजिटल सोलुसन लिमिटेड अबको दुई वर्षका लागि नेपाल क्रिकेट सङ्घले देशभित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ पार्टनरका रूपमा रहने छ ।

सम्झौता लागू भएसँगै आउँदो दुई वर्ष नेपाल क्रिकेट सङ्घले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाइन टिकेट बिक्रीको जिम्मेवारी पनि आईएमई पे ले पाएको छ । काठमाण्डाैमा आज बिहीवार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झाैता पत्रमा क्यानकाे तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गर्नुभएको थियो ।

क्यानका सचिव खड्काले आईएमई पेसँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताउनुभयो । ‘नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागि आउँदा दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीसँग धेरै भन्दा धेरै खेलहरू खेल्नुपर्ने अवस्था रहेको छ । यसैबीचमा आईएमई पेजस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो । यो साझेदारी बनाउने मौका दिनुभएकोमा म मेरो व्यक्तिगत र सिङ्गो नेपाल क्रिकेट सङ्घको तर्फबाट धन्यवादसमेत ज्ञापन गर्न चाहन्छु’, उहाँले भन्नुभयाे ।

नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित महसुस भएकाे आईएमई पेका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयाे ।

यसैगरी आईएमई ग्रुपले क्रिकेटर करण केसी र सोमपाल कामीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । आईएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्रान्ड एम्बेसडरहरूमार्फत आईएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिएको बताएको छ । सम्झौता अनुसार करण र सोमपालले समान पाँच लाख रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया