भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले कार्यकालको वार्षिकीमा 'बोल्ड डिसिजन' लिन नपाउँदै र मन्त्रीले ‘अर्को धर्म मान्नेलाई जेलमा राख्ने’ काम थाल्न नभ्याउँदै एकाएक खोयाले बजार पिट्यो । पहिले पहिलेका पाका र पुरानाले खाएका मुक्का, झाप्पु, थप्पड, चड्कन र जुत्ताभन्दा नयाँले खाएको मकैको खोयोमा धेरैले स्वाद माने । खोया खानेले त के के न खान पाएजस्तै गरी जिब्रो फड्कारे । तर घण्टीको ध्वनि भन्दा खोयाले ठोकेको घण्टीको आवाज बढी सुमधुर सुनियो । घण्टीमा ठोक्किएर खोयाले पैदा गरेको ध्वनि एकाएक हाइहाइ भयो । किन त ? किनकि मङ्सिरे घामले सुकेको खोया तातेको थियो । आउनोस् चिसो बढ्दै जाँदा खोया तात्नुका कारण खाेतलौँ :
१. जाडोमा आगो ताप्न
बिहान बेलुकाको चिसोमा मात्रै होइन, दिउँसोको घाममा समेत हिटरमा भन्दा दाउरा र खोया बालेर आगो ताप्दा बढी न्यानो हुन्छ । दाउरा मात्रै बाल्न पनि पहिले खोया सल्काउनुपर्छ । खोया र दाउरा मिसिएको चुल्होमा आगो राम्रोसँग बल्छ । पहिले पहिले जाडोमा ज्यान सेकाउन मात्रै खोया खोजिन्थ्यो, अहिले राजनीति तताउन पनि खोयाको भूमिका महत्त्वपूर्ण छ ।
२. जाडो भगाउने झोलमा बिर्को लगाउन
स्वास्थ्यलाई बेफाइदा गर्छ भन्ने जान्दाजान्दै पनि कतिपय मान्छेहरू जाडो भगाउने उपायको खोजीमा झोल पदार्थ सुँघ्दै निस्कन्छन् । गाउँदेखि शहरसम्मका गल्ली र चोकहरूमा पाइने झोल पदार्थ राखिएको बोतलमा खोयाकै बिर्को हुन्छ । खोयाबिर्के भनेर ब्रान्डिङ नै भैसकेको यस्तो झोल पदार्थले धनी र गरिब सबै वर्गको मन जितिसकेको छ ।
३. ट्वाइलेट पेपरको जननी
अहिले आधुनिक शौचालयमा पसेर ट्वाइलेट पेपर समाउने सबैलाई यही कामका लागि पहिले खोयाको प्रयोग हुन्थ्यो भन्ने सम्झना र अनुभव ताजै छ । अहिले पनि गाउँठाउँमा बच्चाहरूले आची गरेपछि खोयाले नै सफा गर्ने चलन छ भने कतिपय पाका मान्छेहरूले पनि चर्पीभित्र पस्दा खोया नै बोक्छन् । आँगन र पिँढीमा मिल्किएका आची सफा गर्न पनि खोया नै सजिलो हुन्छ । त्यसैले खोयाको नाता सम्बन्ध आचीसँग पनि सुमधुर छ ।
४. लुतो कन्याउन
ढाड चिलाउँदा हातले कन्याउन मिल्दैन, खोया नै खोज्नुपर्छ । आँगन र पिँढीभरि खोया नै खोया हुने जमानामा ढाड कन्याउन गाह्रो थिएन । अझ लुतो कन्याउन त खोयाले जत्तिको मज्जा अरू केहीले पनि हुँदैन । अहिले पनि लुतोले सतायो भने मान्छेले खस्रो खोया सम्झन्छन् ।
५. घर बनाई खेल्न
पहिले पहिले केटाकेटीदेखि बुढापाकासम्मको मन पर्ने खेल थियो, खोयाको घर । खोयालाई चाङ लगाउँदै जाँदा २०/३० तलासम्मको घर बन्थ्यो । पिँढीमा बसेर खोयाको घर बनाउन थालेपछि मान्छेले आफ्नो घर बिर्सन्थे । आफ्नै हातले ठूलो घर बनाउन सकियो भनेर गदगद हुन्थे । सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका योजनाभन्दा बढी महत्त्वाकाङ्क्षा बोक्ने आफ्नै हातले बनाएको अग्लो न अग्लो खोयाको घर हेरेर दङ्ग पर्दै गर्दा उतिखेरै गर्ल्यामगुर्लुम ढल्थ्यो । त्यसैले खोयालाई सरकार र दलहरूका नारा र सपना ढलेको विम्बका रूपमा पनि प्रस्तुत गर्न सकिन्छ ।
६. गाईभैँसीको मयल माड्न
मान्छेले जस्तो गाईभैँसीले बिहान उठेर मुख धुँदैनन् । हप्ता/हप्तामा नुहाउँदैनन् । आहाल बसाउन लैजाँदा पानीमा डुबुल्की मारेर मात्रै मज्जा लिन्छन्, ज्यानको मयल माड्दैनन् । मान्छेले नै माडिदिनुपर्छ । गाईभैँसीको खस्रा ज्यानमा हातले मयल माड्न सकिँदैन । खोयाले मयल माड्दा छिटो सफा हुन्छ । कहिलेकाहीँ त मान्छेको ज्यानमा पनि गाईभैँसीको जस्तै मयल थुप्रियो भनेर खोयाले नै माड्न मज्जा हुन्छ ।
७. मकै छोडाउन
खोयामा मकै हुँदासम्म त्यो घोगो हुन्छ, खोया हुँदैन । घोगोबाट मकैका सबै दाना निकालेपछि बल्ल खोयाको अस्तित्व हुन्छ । खोस्टा निकालेको मकैको थुप्रोबाट एउटा खोया बनेपछि त्यो खोयालाई आफूजस्तै अरू साथी बनाउन हतार हुन्छ । त्यसैले मान्छेको हातले मात्रै गर्दा बिस्तारै हुने काम खोयाले एकैपटक गरिदिन्छ । छिटोछिटो मकै छोडाएर खोया बनाउन खोयाकै काम आउँछ । अथवा खोया आफूले आफ्नै सजातिलाई खुइल्याउने औजारका रूपमा पनि परिचित छ ।
८. जनै बाट्न र घुर्रा बनाउन
जनै बनाउने प्रक्रियाको अन्तिम चरणमा पनि खोयाको टुक्रा काम लाग्छ । घुर्रा बनाएर घुमाउन पनि खोया सजिलो हुन्छ ।
९. विभिन्न रोगको उपचारमा
धेरैलाई थाहा छैन कि मकैको खोया विभिन्न रोगको उपचारमा पनि काम लाग्छ । जानकारहरू भन्छन्– मकैको खोयालाई पानीमा उमालेर छान्ने र छानेको त्यो झोल खाएमा पाइल्सको समस्या ठिक गर्न मद्दत पुग्छ । अनि त्यो झोलले मुख कुल्ला गरे दाँत दुख्ने समस्या पनि कम हुन्छ । सास गन्हाउने समस्याका लागि पनि खोयाको झोल उपयुक्त हुन्छ । सुकेको या हरियो दुवै खाले खोया स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
१०. समृद्धिका लागि खोया
सबैभन्दा महत्त्वपूर्ण कुरा, देशलाई समृद्ध बनाउँछु भनेर धेरैले भने । तर भन्ने मान्छे र उसका छाते र हुक्के बाहेक अरू समृद्ध हुन सकेनन् । अब सबैलाई समृद्ध बनाउने एउटा उपाय खोया मात्रै बाँकी छ । कोरिया लगायतका देशहरूमा मकैको खोयाको बिक्री गरेर मान्छे धनी भएका छन् रे । हाम्रो देशमा त खोया त्यत्तिकै मिल्किरहेको हुन्छ । पहिले पहिले जस्तो आगो बाल्न, लुतो कन्याउन, आची पुछ्न, मयल माड्न, जनै बनाउन पनि मान्छेले खोया चलाउन छोडे । हेँला र हेयको रूपमा हेरिन थालेको खोयाबाट समृद्ध हुने अवसर बल्ल जुरेको छ । वर्षदिनको आफ्नो कामबाट वाक्कदिक्क भएर रन्थनिएका प्रधानमन्त्रीलाई 'बोल्ड डिसिजन' गर्न पनि खोया काम लाग्न सक्छ ।
खोयाको बहुआयामिक प्रयोग नेपाली समाजको विशेषता हो । खोयाले ठोक्दा निस्केको ध्वनि कसैलाई मिठो र कसैलाई नमिठो लागे पनि खोयाले घण्टी बजाएर सङ्गीत साधनामा पनि आफ्नो महत्त्व स्थापित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।