बेनी–जोमसोम–कोरला सडक :  ६ वटा पुलकाे काम ९५ प्रतिशत सकियाे

 पुष ११, २०८० बुधबार १०:५८:५४ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी - कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा थप छ पुल निर्माण भएकाे छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा एक र लोमान्थाङ गाउँपालिकामा चार मोटरेबल पुल सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर विष्णु चापागाईँले निर्माणको अन्तिम चरणमा रहेका ती पुलबाट गाडी आवतजावत हुन थालेकाे जानकारी दिनुभयो ।

'पन्चानब्बे प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका पुल अन्तिम चरणमा छन्', उहाँले भन्नुभयो, 'पहुँचमार्ग र संरचना बनिसकेकाले गाडी आवतजावत हुन थालेकाे हाे ।' बेनी–जोमसोम–कोरला आयोजनाले पाँच वटा पुल निर्माणका लागि ३१ करोड ६२ लाख रुपैयाँमा विभिन्न कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

रघुगङ्गा –१ बेगखोलामा ७० मिटर लामो ‘डबल स्पाम’ भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआई/हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल निर्माण गर्न कालिका–गजुरमुखी जेभीले सात करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

लोमान्थाङको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बीस मिटर लामो लोमान्थाङ पुलको लागत चार करोड ६८ लाख, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत छ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत  छ करोड ३७ लाख रुपैयाँ र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत छ करोड ८५ लाख रुपैयाँ रहेकाे छ । 

पुल निर्माण भएपछि यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभयो । योजनामार्फत १३  पक्की पुल र तीन बेलीब्रिजकाे निर्माण सकिएकाे छ । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । 

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटमा रहेकाे कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोममा रहेकाे कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । 

म्याग्दीको अन्नपूर्ण–३ मा रहेकाे रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्गखोलामा बेलीब्रिज निर्माण भएको हो । थप एउटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सातवटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुईलेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि शुरु भएको योजनाको अहिलेसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । 

छ वटा खण्डमा ८५ किलोमिटर सडममा ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया