चाैरासी पूजाकाे खर्च कटाएर विद्यालयलाई ४ लाख रुपैयाँ सहयोग

 पुष ११, २०८० बुधबार १६:६:३० | रासस
unn.prixa.net

म्याग्दी – मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उहाँका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन् । च्युरीबोट घर भई अहिले बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उहाँका छोराहरूले मङ्गलवार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

घनमायाले आफ्नो नामबाट एक लाख, स्व. श्रीमान् टेकबहादुर पुनको नाममा एक लाख र स्व. छोरी चित्रा घर्तीको स्मृतिमा पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक  ललितबहादुर घर्तीमगरले बताउनुभयो ।

घनमायाका छोरा टार्जन र दुर्गा एवम् छोरी रुपी पुनले थप ५०/५० हजार रुपैयाँ उपलब्ध गराउनुभयो । घनमाया, उहाँका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, विद्यालयका प्रधानाध्यापक, अक्षय कोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

घनमायाका जेठा छोरा/बुहारी दलमान र माया पुनले गएकाे वर्ष ५० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । उहाँका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । त्याे रकम विद्यालयमा सिद्धार्थ अक्षय कोषमा जम्मा गरिने प्रधानाध्यापक घर्तीले बताउनुभयो ।

चौरासी वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिनुभएको वडाध्यक्ष पुनले बताउनुभयो । सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजनसमेत गराउनुभएको थियो ।

विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समूह, क्लबलगायत सङ्घ–संस्थाहरूले घनमाया र उहाँका परिवारलाई सम्मान गरेका थिए । विसं २०५५ मा स्थापित अक्षय कोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरूलाई तलब र गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तीमगरले बताउनुभयो । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा एक सय २७ जना विद्यार्थी छन् ।

अक्षय कोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म २४ लाख १४ हजार छ सय ४३ रुपैयाँ सङ्कलन भएको छ । यसै अवसरमा गएकाे वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी भई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया