१० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा

 पुष ११, २०८० बुधबार १८:५१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्नपूर्ण आधार शिविर, तस्बिर : रासस

काठमाण्डाै – यो अङ्ग्रजी वर्ष अर्थात् सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनराेत्थानका लागि सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।

सरकारको लक्ष्य आज बुधवार पूरा भएको हो । यस वर्ष आज बिहान ५ बजेसम्ममा नौ लाख ९९ हजार एक सय नौ जना पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । आज दिउँसो ४ बजेसम्ममा थप तीन हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका अध्यागमन विभागले जनाएको छ । सन् २०२३ सकिन चार दिन बाँकी छँदै सरकारको लक्ष्य पूरा भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका थिए । तर कोरोना महामारीका कारण सन् २०२० मा नेपालमा विदेशी पर्यटकको सङ्ख्या दुई लाख ३० हजार ८५ जनामात्रै थियो । त्यो सङ्ख्या अझै घटेर सन् २०२१ मा एक लाख ५० हजार नाै सय ६२ जना विदेशी पर्यटक मात्रै नेपाल आए । कोभिड–१९ बाट बच्न लगाइएका प्रतिबन्धहरू हटेपछि सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका थिए ।

सरकारले अझै राम्रोसँग बजारीकरणसहित पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएको भए सन् २०१९ कै हाराहारीमा पर्यटक आउने सम्भावना रहेको निर्देशक लामिछानेले बताउनुभयो । तर यस वर्षको पर्यटक आगमन पनि नेपालका लागि उत्साहपूर्ण रहेको उहाँको भनाइ छ । यो वर्ष नेपालमा भारत, अमेरिका र चीनबाट आउने पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ । पर्यटन बोर्डले अब वार्षिक १२ लाख पर्यटक भित्र्याउने गरी तयारी शुरु गरेको जनाएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया