उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
कास्की – पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए ।
‘अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ’, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले भन्नुभयो, ‘पछिल्लो समय दक्षिण एसियाली देशका पर्यटक बढेका छन्, अन्य देशका पर्यटक भने घटेको पाइएको छ ।’ सन् २०१९ मा दक्षिण एसियाली देशका जम्मा ५३ हजार सात सय १० पर्यटक अन्नपूर्ण पुगेकोमा गएको वर्ष ९७ हजार पाँच सय ५४ जनाले यो क्षेत्रको भ्रमण गरेका थिए ।
अन्य देशका पर्यटक भने पहिलेको तुलनामा घटेका 'एक्याप' को तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा सार्क क्षेत्रबाहेकका देशका एक लाख २७ हजार दुई सय ९० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएकामा गएको वर्ष जम्मा ९४ हजार चार जनाले यो क्षेत्र घुमेको आयोजना प्रमुख डा. कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सन् २०२३ मा एक सय ७३ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । जसमध्ये सबैभन्दा बढी भारतका ९६ हजार एक सय ८७ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । यस अवधिमा फ्रान्सका आठ हजार पाँच सय २६, जर्मनीका सात हजार छ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका छ हजार तीन सय २३ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको तथ्याङ्क छ ।
कोभिड–१९ महामारीका बेला पर्यटक आगमन घटेकोमा महामारीको अन्त्यसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानै लय समातेको हो । कोभिड–१९ महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।
आयोजना प्रमुख डा. कडरियाले पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको सङ्ख्या घटेको बताउनुभयो । घसडक मार्ग विस्तारले अन्नपूर्ण क्षेत्रमा पदमार्गको अस्तित्व सङ्कटमा परेको छ जसले गर्दा पदयात्रामा आकर्षण घट्दै गएको पाइएको छ, विश्वका उत्कृष्ट १० गन्तव्यभित्र परिसकेको अन्नपूर्ण क्षेत्रको पहिचानलाई कायमै राख्न यस क्षेत्रका पदमार्गलाई जोगाउनु आवश्यक छ, पर्यटन सम्बद्ध सबैको यसतर्फ ध्यान जानु जरुरी छ ।’
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । ‘आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य रहेको हुन्छ’, प्रमुख डा. कडरियाले भन्नुभयो, ‘असोज–कात्तिक र चैत–वैशाख गरी दुई याममा पर्यटकको चाप बढी हुन्छ ।’ सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।
तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट 'लोन्ली प्लानेट' ले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको थियो । गएको कात्तिकमा नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेपछि यस क्षेत्रको महत्त्व थप चुलिएको थियो ।
त्यस बखत उहाँले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भूत रहेको बताउनुभएको थियो । अमेरिकी समाचार संस्था 'सीएनएन' ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो ।
‘कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘आकर्षक गन्तव्यस्थलहरू, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।