धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
खोटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले चिसापानीमा निर्माणाधीन अस्पतालको जग भत्काउन ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । जन्तेढुङ्गा–५ चिसापानीमा निर्माणाधीन अस्पतालकाे जगकाे ढलानका क्रममा गुणस्तरहीन गिटी बालुवा प्रयोग भएकाे पुष्टि भएपछि भत्काएर पुनर्निर्माण गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।
ठेकेदार कम्पनी ड्रागन–रियर जेभीले अस्पतालको जगकाे ढलानका क्रममा बारीको खानीबाट उठाइएको बालुवा र माटो मिसिएकाे गिटी प्रयोग गरेको खुलेकाे थियाे । आज मङ्गलवार गाउँपालिका अध्यक्ष अरुणादेवी राईको अध्यक्षतामा बसेको बैठकले निर्माणाधीन अस्पतालकाे संरचना भत्काएर ल्याबमा पास भएकाे सामग्री प्रयोग गरेर निर्माण कार्य अघि बढाउने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले बताउनुभयाे । बैठकले गुणस्तरहीन बालुवा निर्माणस्थलबाट हटाउन तथा जम्मा गरिएको गिटी चालेर र धोएर मात्र प्रयोग गर्न पनि निर्देशन दिएको छ ।
गाउँपालिकाले अस्पताल निर्माणका क्रममा प्रयोग भएको बालुवा र गिटीको गुणस्तर परीक्षणका लागि ठेकेदार कम्पनीलाई गएकाे मङ्सिर २६ गते पत्राचार गरेको थियो । ल्याब रिपोर्टमा बालुवा जोन १, २ र ३ मा नपरेका कारण निर्माणको काममा प्रयोग गर्नु अयोग्य ठहरिएको भन्दै गाउँपालिकाले त्याे गिटी बालुवा प्रयोग गरेर बनेका संरचना भत्काएर पुनर्निर्माण गर्ने निर्णय गरेको हो । गाउँपालिकाको निर्णयलगत्तै ठेकेदार कम्पनीले संरचना भत्काउन शुरु गरेको गाउँपालिकाका इन्जिनियर अरुणकुमार शाहले जानकारी दिनुभयाे ।
गाउँपालिकाले ल्याब परीक्षण नगरि प्रयोग नगर्न भने पनि ठेकेदारले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेका थिए । हरेक पालिकामा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार जन्तेढुङ्गामा १५ शय्याको अस्पताल भवन निर्माण शुरु गरिएको हो ।
ठेकेदार कम्पनी ड्रागन–रियर जेभीले २०७९ असार २८ गतेभित्र निर्माण गरिसक्ने गरी २०७८ असार २५ गते अस्पताल भवन निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो । तर कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको हो । ड्रागन–रियरले २० करोड ७१ हजार पाँच सय ९० रुपैयाँमा निर्माण सक्ने गरी भवन निर्माणको ठेक्का लिएको थियो । सिद्धगढी निर्माण कम्पनीका इन्जिनियर दिपेन्द्र गामीले भने अस्पतालको जग निर्माणका क्रममा बारीको खानीको बालुवा प्रयोग नगरेको दाबी गर्नुभयो । अस्पताल भवन २०७७ मङ्सिर १५ गते तत्कालीन प्रदेश सांसद रामकुमार राई पासाङ (अहिले प्रतिनिधिसभा सदस्य) ले शिलान्यास गर्नुभएको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीसँग नजिक रहने गरी अस्पताल भवनका लागि पाँच रोपनी जग्गा जुटाइएको छ । अस्पतालको घडेरीका लागि बनाइएको पर्खालको गुणस्तरको विषयमा समेत स्थानीयवासीले आवाज उठाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।