धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
गोरखा – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा नौ हजार एक सय ६६ जना विदेशी पर्यटक भित्रिएका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख सन्तोष शेरचनका अनुसार यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
‘यस वर्ष अहिलेसम्मकै सर्वाधिक विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा आइपुगे’, प्रमुख शेरचनले भन्नुभयो, ‘पछिल्लो समय यस क्षेत्र पर्यटकको अत्यधिक रोजाइमा पर्न थालेको छ ।’ सन् २०२२ मा यस क्षेत्रमा छ हजार एक सय दुई विदेशी पर्यटकले भ्रमण गरेका थिए ।
यसअघि सन् २०१९ मा सात हजार पाँच सय ५५ जनाले, सन् २०१८ मा सात हजार छ सय ५४ जनाले भ्रमण गरेकामा कोरोना सङ्क्रमणका कारण सन् २०२० मा तीन सय ३७ र सन् २०२१ मा नौ सय २५ जनाले मात्र मनास्लु क्षेत्र भ्रमण गरेका कार्यालय प्रमुख शेरचनले जानकारी दिनुभयो । विश्वमाझ चर्चा कमाउँदै गएको यस क्षेत्रमा सन् २०२४ मा १२ हजार विदेशी पर्यटकले घुम्न आउने अनुमान गरिएको उहाँको भनाइ थियो ।
पदयात्रा गर्ने पर्यटकले चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् भने नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र ताल अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्छन् । त्यस्तै चुम भ्याली शृङ्गी हिमाल, भर्जिन हिमाल अवलोकनका साथै योगाभ्यासका लागि पनि विदेशी पर्यटक आउने गन्तव्य बन्दै गएको छ । यी दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउँछन् । मनास्लु क्षेत्र प्राकृतिक हिसाबले मनोरम र सामरिक हिसाबले पनि विशेष महत्त्वको क्षेत्र भएकाले पनि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । निषेधित क्षेत्रको रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुला गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।