त्रिवि उपकुलपतिको विज्ञापनमा तीन वर्षे अनुभवकाे प्रावधान हटाउन प्रधानमन्त्रीको निर्देशन

 पुष २०, २०८० शुक्रबार १६:४१:१० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिनुभएको छ ।

आज शुक्रवार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले विज्ञापन सच्चाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभर रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेको स्मरण गराउनुभयो ।

विश्वविद्यालयले आज प्रकाशित गरेको विज्ञापनले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को विज्ञापन निकाल्न निर्देशन दिनुभएको हो ।

शुक्रवार छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने उल्लेख थियो । त्यही सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र अन्य योग्यलाई अयोग्य बनाउनेप्रति आफ्नो चासो रहेको भन्दै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्णरूपले खुला गरी अर्को विज्ञापन प्रकाशित गर्न मन्त्रालयमार्फत समितिलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जो–कोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्नसक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिनुभएको छ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया