अलैँचीको भाउ तेब्बरले बढ्याे, चार वर्षयताकै उच्च मूल्य पाएपछि किसान खुसी

 पुष २२, २०८० आइतबार १२:५८:३२ | रासस
unn.prixa.net

तस्बिर : रासस

इलाम - अलैँचीको भाउ तेब्बरले बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री भइरहेकाे छ । 

'अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ', सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, 'कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुनेभयो ।' 

गएकाे वर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको व्यवसायी जीवन पाण्डेले बताउनुभयो । 'गएकाे वर्ष यसयाममा प्रतिमन २८ हजार रुपैयाँसम्म भाउ पाइएकाे थियो, अहिले राम्रो अलैँची प्रतिमन ८५ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ', उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ ।

किसान तथा व्यापारीसँग मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको उहाँले बताउनुभयो । रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्याउने प्रयास गरिरहेका छन् ।

सूर्योदय–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाउनुभएको छ । 'वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक आठ/दश लाख रुपैयाँ बचत हराएको छैन', उहाँले भन्नुभयो । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन् ।

प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो। मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको किसान शेरेङले बताउनुभयो ।

जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । एक हजार सात सय ५३ हेक्टर जमिनमा याे बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसँग तथ्याङ्क छ ।

कार्यालयका कर्मचारी रुन खड्काका अनुसार गएकाे आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो । 'गएकाे वर्ष एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो ।' उहाँले भन्नुभयो, 'अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ ।' गएकाे वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उहाँले बताउनुभयो ।

दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो । अलैँचीकै आम्दानीले घरखर्च चलाउनमात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो । तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका प्रायजसाे किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो । बिस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन एक लाख रुपैयाँसम्म पनि पुग्यो ।

रोगले हराउँदै गएको अलैँचीलाई किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्याउने प्रयास थालेका छन् । 'पाखामा गाडेरमात्र नहुँदोरहेछ, स्याहार र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ', किसान शेरेङले भन्नुभयो, 'रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीको उत्पादनमा धेरै फरक पाइयो ।' उहाँले सिँचाइको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने बताउनुभएको छ ।

अलैँची विकास केन्द्रका तत्कालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुर्याएको उहाँले बताउनुभयो । 'मेरोमा उत्पादन भएको अलैँची बाग्लुङ, पोखरा, स्याङ्जातिर पनि निर्यात भएको छ', उहाँले भन्नुभयो, 'मैलै सधैँ बिरुवा उत्पादन गरेर अलैँची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आउँदाे वर्ष बृहत् गर्नुछ ।'

प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ । अर्का किसान मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको हो । किसानले अलैँचीका लागि सङ्घसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो ।

अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैँची सुध्रिएको बताउँछन् । घरेलु औषधि र मलको प्रयोग अलैँचीलाई महत्त्वपूर्ण हुने उनीहरुको भनाइ छ । दशकअघिको खेती प्रविधि सम्झँदै उहाँले भन्नुभयो, 'त्योबेला अलैँची त दुःख नगरि फल्दोरहेछ, जबरजस्ती आम्दानी लिएछौँ ।' सबै किसानले जुनसुकै खेती गर्नुभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने उहाँले बताउनुभयो । किसानले अलैँची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल भने घटेको छ । जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

छ गाउँपालिका र चार नगरपालिका गरी १० पालिका भएको इलाममा माईजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँचीखेती भए पनि सबै पालिकामा आंशिकरूपमा खेती हुँदै आएकोे छ । अलैँचीखेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया