सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु, मृतकको शव ३ दिनदेखि सडकमै

 पुष २२, २०८० आइतबार १३:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु आदेश जारी भएको छ ।

नगर अस्पताल स्वामित्वका विषयमा झडप हुँदा गएकाे शुक्रवार एक जनाको ज्यान गएपछि कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो शनिवार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको थियो । तर स्थानीयले प्रदर्शनलाई जारी राखेपछि प्रशासन कार्यालयले आज आइतवार फेरि कर्फ्यु आदेश जारी गरेको हो । आज दिउँसो पौने १ बजेदेखि लागू भएको कर्फ्यु भोलि साेमवार बिहान ८ बजेसम्म कायम रहने प्रशासन कार्यालयले जनाएको छ ।

शुक्रवार भएको झडपमा बरहथवा–५ का जयशंकर शाहको ज्यान गएको थियाे । उहाँको शव अझै सडकमै रहेको छ । स्थानीयले आफूहरूकाे माग पूरा नभएसम्म शव उठाउन नदिने अडान राखेका छन् ।

हिजो गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न समिति गठन गर्नुका साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर स्थानीयले आफूहरूको माग पूरा नभएको भन्दै प्रदर्शनलाई जारी राखेका छन् । उनीहरूले गोली चलाउने प्रहरीलाई कारबाहीको माग गरेका छन् । त्यस्तै बरहथवाका मेयरले राजीनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको अस्पताल बनाउनुपर्ने र अस्पतालको नाम जयशंकरको नामबाट राख्नुपर्ने माग गरेका छन् । त्यसैगरी मृतकलाई शहीद घोषणा गर्नुपर्ने, अस्पतालमा मृतकको शालिक निर्माण गर्नुपर्ने, इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापालाई तत्काल निलम्बन गर्नुपर्ने माग राखेका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सर्वदलीय बैठकबाट समस्याको निकास खोज्न पहल भइरहेको बताउनुभयो । गोली चलाएको आरोप लागेका प्रहरी वरिष्ठ हवल्दारलाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया