ऐतिहासिक लामपाटीको छाना ३४ वर्षपछि फेरियो : छानामा बाँदर हिँड्ने भएकाले समस्या

 पुष २४, २०८० मंगलबार ८:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रको ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छाना फेरिएको छ । पानी चुहिने लामपाटीमा बर्खामा त्रिपाल राखिएको थियो । तर अहिले त्रिपाल हटाएर छाना फेरिएको छ । छाना फेरिए पनि भूकम्पले क्षति पुर्याउँदा लामपाटी जीर्ण अवस्थामा छ । २०७२ सालको भूकम्पले सामान्य क्षति पुर्याएको लामपाटीमा पानी चुहिने समस्या थियो ।

ललितपुरका विभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा १७३४ मा निर्माण भएको ऐतिहासिक सम्पदा लामपाटीलाई १९९० सालको भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको पाटन दरबार प्रमुख मञ्जुसिंह भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सांस्कृतिक महत्त्व बोकेको सम्पदा लामपाटीलाई १९९० सालको भूकम्पले क्षति पुर्याएपछि पुनःनिर्माण भएर २०४६ सालमा छाना फेरिएको थियो ।

पानी चुहिने समस्याका कारण पटक पटक मर्मत गरे पनि यसपटक भने पूरै छाना फेरिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । लामपाटीमात्र नभएर अन्य सम्पदाको छानामा बाँदर हिँड्ने भएकाले छिट्टै पानी चुहिने समस्या छ । ती सम्पदाको पनि छाना फेर्नुपर्ने अवस्था रहेको भण्डारीले बताउनुभयो ।

दरबार क्षेत्रको लामपाटी नेवार समुदायले सामाजिक कार्यहरू गर्ने भए पनि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक परियोजनाको लागि भाडामा दिएको छ । ऐतिहासिक सम्पदा लामपाटीमा रेष्टुरेन्ट र अन्य पसल सञ्चालनमा छन् ।

जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनःनिर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । डकर्मी रवीन्द्र प्रजापतिका अनुसार झिङ्गटी राम्रो भयो भने ८० वर्षसम्म टिक्न सक्छ । तर छानामा बाँदर हिँडेका कारण झिङ्गटी तलमाथि सरेको र पानी चुहिने समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।  

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया