चिसो बढेसँगै मधेशका महिला जलनको जोखिममा

 माघ ३, २०८० बुधबार ९:१४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जाडो बढ्न थालेसँगै तराई मधेशमा घुर अर्थात आगो ताप्दा जलनमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो केही दिनदेखि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेर चिसो बढ्न थालेपछि घुर अर्थात आगो ताप्दा जलेर घाइते र ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको हो ।

तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा शीतलहरका बेला घुर अर्थात आगो ताप्दा जलनका घटना बढी हुने गरेको विज्ञले बताएका छन् । त्यसमा पनि महिलाहरु बढी जोखिममा पर्ने गरेका छन् ।

महिलाहरुले लगाउने कपडा जलनको कारण बन्न सक्ने हुँदा साडी वा कुर्ता लगाएर आगो ताप्न बस्दा विशेष ख्याल गर्न प्लाष्टिक सर्जन डा जसवन शाक्यले आग्रह गर्नुभयो । जलन हुनबाट जोगिन आगोको छेउछाउ जाँदा नाइलनका कपडा नलगाउने, खाना पकाउँदा आफू आगोबाट टाढा बस्ने, खाना पकाउने ठाउँ अग्लो ठाउँमा बनाउने लगायतका कुरामा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

डा शाक्यले जलनका घटना कम गर्न अझै पनि जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । जलन भैहाल्यो भने शुरुमा आगो निभाउन कोसिस गर्ने, आगो निभेपछि शरीरमा टाँसिएको कपडा निकाल्ने, जलेको भागमा निरन्तर २० देखि २५ मिनेटसम्म चिसो पानी खन्याउने र तुरुन्तै अस्पताल लैजानुपर्ने डा.शाक्यको सुझाव छ ।

जाडोमा हुने जलनका घटनामध्ये ६० प्रतिशत आगो ताप्ने क्रममा हुने गरेको कीर्तिपुर अस्पतालले जनाएको छ । कीर्तिपुर अस्पतालमा जलनका घाइतेहरुको उपचार हुने गर्छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया