महानगरले न्युरोडमा पार्किङ निषेध गरेसँगै व्यवसायीले शटर बन्द गरेर थाले आन्दोलन

 माघ ९, २०८० मंगलबार १८:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले न्युरोड क्षेत्रमा गाडी पार्किङ गर्न नदिएपछि व्यवसायीहरूले शटर बन्द गरेर विरोध जनाएका छन् ।

महानगरले आज बिहानदेखि न्युरोडको कालोपत्र सडकमा पार्किङ गर्न निषेध गरेको थियाे । यसकै विराेधमा काठमाण्डाै महानगरपालिकाकाे वडा नम्बर २२,२३ र २४ का व्यवसायीहरूले शटर बन्द गरेर आन्दाेलन थालेका हुन् ।

महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाण्डाै टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ । काठमाण्डाै टावरमा ३ सय वटा चार पाङ्ग्रे र ७ सय वडा दुई पाङ्ग्रे गाडी पार्किङ गर्न सकिने महानगरले जनाएको छ ।

व्यवसायीहरू भने याे पार्किङ क्षेत्र उपयुक्त नभएको बताउँछन् । ताम्राकार मोबाइल व्यापार सङ्घका अध्यक्ष गुरुदत्त शर्माले कोरोना महामारीलगायतका कारण व्यवसायबाट पलायन हुन थालेका व्यवसायीहरूलाई हतोत्साही बनाएर महानगरले न्युरोड क्षेत्रमा पार्किङ बन्द गर्ने निर्णय गरेको आरोप लगाउनुभयो । उहाँले नेपालको व्यापारको केन्द्र न्युरोड क्षेत्रमा पार्किङ बन्द गर्दा व्यापार शून्यमा झर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष शर्माले महानगरले गरेको निर्णयकाे विरुद्धमा पसलहरू बन्द गरेर विरोध जनाएको उल्लेख गर्नुभयो । उहाँले पार्किङ बन्द गरेर समस्याको समाधान नहुने भन्दै महानगर यसको विकल्पमा जानुपर्ने बताउनुभयो । भाेलिदेखि २२,२३ र २४ नम्बरका सबै व्यवसायीहरूले शटर बन्द गरेर महानगरलाई चाबी बुझाउने उहाँकाे भनाइ छ ।

ताम्राकार मोबाइल व्यापार सङ्घका संस्थापक अध्यक्ष जगत साउदले पनि न्युरोड देशभरकै व्यापारकाे केन्द्र भएकाले यो क्षेत्रमा पार्किङ बन्द गर्दा ठूलो नोक्सानी हुने बताउनुभयो । महानगरले अहिले ताेकेकाे पार्किङ क्षेत्र पर्याप्त नभएकाे भन्दै विकल्प दिन आग्रह गर्नुभयाे ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया