मोरङमा हिउँ चितुवा भेटिएकोप्रति संरक्षणकर्मीको चिन्ता, आफैँ मोरङ पुग्नु ‘असम्भव’

 माघ १०, २०८० बुधबार १५:३८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – हिजो मोरङको उर्लाबारीमा हिउँ चितुवा फेला परेको घटनाप्रति संरक्षण अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् । ४ हजार मिटरभन्दा बढी उचाइमा विचरण गर्ने हिउँ चितुवा १ सय ५० मिटरको उचाइमा भेटिनु चिन्ताको विषय भएको हिउँ चितुवाबारे लामो समय अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करन शाहले बताउनुभयो ।

उहाँका अनुसार खाना खोज्दै वा अरू कारणले हिउँ चितुवा मोरङको उर्लाबारीमा आइपुग्न असम्भवजस्तै छ । त्यसैले यो चोरी सिकारी वा कुनै किसिमबाट मानिसले ल्याएको हुन सक्ने उहाँको अनुमान छ । चोर सिकारीले जिउँदै हिउँ चितुवा समातेर अन्यत्र लैजाने घटना यसअघि नदेखिएकोले यो घटनाबाट शङ्का बढेकाेले अनुसन्धान गर्नुपर्ने प्राध्यापक शाहले बताउनुभयो ।

हिजो बाँसघारीमा लुकेको अवस्थामा स्थानीयले देखेर खबर गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले हिउँ चितुवालाई बेहोस पारी नियन्त्रणमा लिएको थियो । समातिएको हिउँ चितुवाको पुच्छर लामो नभएको, शरीरमा हुनुपर्ने जति रौँ विकसित भएको नदेखिएको जस्ता कारण यो हिउँ चितुवा बच्चैमा कसैले समातेर पालेको र अहिले भागेको हुन सक्ने शाहको अनुमान छ । हुनै नसक्ने घटना देखिएकोले हिउँ चितुवा भेटियो भनेर खुशी नभई कसले किन ल्यायो भन्नेतर्फ अनुसन्धान हुनुपर्ने संरक्षणकर्मीको जोड छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया