हिमालमा पाइने हिउँचितुवा कसरी तराईमा भेटियो भन्नेमा अनुसन्धान हुँदै

 माघ १३, २०८० शनिबार ९:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चार दिनअघि मोरङको उर्लाबारीमा भेटिएको हिउँचितुवाबारे अनुसन्धान भैरहेको विज्ञहरुले बताएका छन् । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख एवम् हिउँचितुवासम्बन्धी विज्ञ मधु क्षेत्रीले भाले हिउँचितुवाको आमासँग छुट्टिएर वा बाटो भुलेर आइपुगेको हुनसक्ने बताउनुुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषले हिजो चिडियाखानामा गरेको पत्रकार सम्मेलनमा उहाँले हिउँचितुवाले एक रातमा ५०/६० किलोमिटर हिँड्न सक्ने भएकाले हिँडेर मोरङ पुुगेको हुनसक्ने क्षेत्रीको अनुमान छ । कञ्चनजंघा संरक्षण क्षेत्रतिरबाट खानाको खोजी गर्दै मधेस झरेको, बाटो बिराएको, कसैले हुर्काएर छाडेको वा तस्करी गरेर कतै लैजान लाग्दा छुटेको हुनसक्ने आशंका पनि गरिएको छ ।

विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताउनुभयो । हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था सामान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

गएको मंगलवार उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई अहिले उद्धार गरी सदर चिडियाखानामा राखिएको छ । नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ ।

नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवम् प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो । विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा हिउँ चितुवा दुई हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइएको छ ।

हिमाली क्षेत्रको १२ संरक्षित क्षेत्र तथा आसपासका क्षेत्रमा करिब १२ हजार आठ सय १५ वर्ग किलोमिटर क्षेत्रमा सम्भावित बासस्थान रहेको छ । नेपालमा तीन सय एकदेखि चार सय सङ्ख्यासम्म रहेको अनुमान गरिएको छ । यो प्रजाति संवेदनशील वर्गमा र नेपालको संरक्षित सूचीमा पर्छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया