एन्फा महिला लिगमा एपीएफ र आर्मी खेल्दै
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - देशको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कुल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएकाे आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन भएकामा चालु आव २०८०/८१ को त्यही अवधिमा दुई खर्ब १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन छ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो ।
राजस्व सङ्कलन भन्सार प्रशासनको महत्त्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ । देशको कुल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ । चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जीप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका छन् । यी वस्तुबाट गएकाे आवको पुुस मसान्तसम्म ६६ अर्ब ५६ करोड रुपैयाँ (कुल राजस्वको ३५ दशमलव चार प्रतिशत) राजस्व सङ्कलन भएकामा यस आवको पुस मसान्तसम्म ८२ अर्ब ७८ करोड रुपैयाँ (कुल राजस्वको ४१ दशमलव चार प्रतिशत) सङ्कलन भएको छ ।
गएकाे आवको तुलनामा याे राजस्व २४ दशमलव चार प्रतिशतले बढी हो । गएकाे आव पुस महिनासम्मको तुलनामा २० अर्ब ६९ करोड रुपैयाँ बढी राजस्व उठेको छ जुन रकम अहिलेसम्म सङ्कलन भएको राजस्वको १० दशमलव तीन प्रतिशत राजस्व हो । भन्सार विभागको चालु आवको पुस मसान्तसम्म तीन खर्ब छ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा कुल दुई खर्ब १० करोड राजस्व सङ्कलन गरी लक्ष्यको तुलनामा ६५ दशमलव ३६ प्रतिशत राजस्व सङ्कलन भएको छ । जुन वार्षिक लक्ष्यमा ३१ दशमलव ८८ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
विभागले सङ्कलन गर्ने राजस्वमा मुख्यतः भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको हिस्सा रहेको छ । भन्सार प्रशासनबाट चालु आवको पुस मसान्तसम्म सङ्कलित कुल राजस्वमध्ये ८८ अर्ब ८० करोड भन्सार महसुल, ८७ अर्ब ४१ करोड मूल्य अभिवृद्धि कर, १८ अर्ब १० करोड रुपैयाँ अन्तःशुल्क सङ्कलन भएको जनाएको छ । त्यस्तै, दुई अर्ब ४१ करोड रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर, तीन अर्ब ३९ करोड रुपैयाँ सडक निर्माण तथा सम्भार दस्तुरबापत सङ्कलन भएको छ ।
जुन त्यही अवधिमा सङ्कलित राजस्वमध्ये भन्सार महसुलको हिस्सा ४४ दशमलव एक प्रतिशत, मूल्य अभिवृद्धि करको ४३ दशमलव सात प्रतिशत, अन्तःशुल्क नौ दशमलव एक प्रतिशत, सडक मर्मत तथा सुधार दस्तुुर एक दशमलव दुई प्रतिशत र सडक निर्माण तथा सम्भार दस्तुर एक दशमलव सात प्रतिशत रहेको छ । विभागको तथ्याङ्कअनुसार चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा नेपालले कुल आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।त्यस मध्ये सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
व्यापारलाई विश्लेषण गर्दा नेपालले याे अवधिमा करिब सात खर्ब रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ । पुस मसान्तसम्ममा छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ बराबरको व्यापार घाटा देखिएको हो । गएकाे आवको पछिल्लो छ महिनाको तुलनामा चालु आवको त्यही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ ।
नेपालले सबैभन्दा धेरै भारतसँग चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । छ महिना अवधिमा भारतबाट चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने ५० अर्ब ४४ करोड २२ लाख रुपैयाँ बराबर मात्रै छ । नेपालले उच्च व्यापार घाटा बेहोरेका देशमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचाैँ नम्बरमा छन् । पुस मसान्तसम्ममा चीनसँग एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोड, युक्रेनसँग नौ अर्ब ९६ करोड र मलेसियासँग आठ अर्ब ६० करोड रुपैयाँ बराबर व्यापार घाटा छ ।
नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका देशको सूचीमा संयुक्तराज्य अमेरिका पहिलो स्थानमा छ । चालु आर्थिक वर्षको छ महिना अवधिमा नेपालले अमेरिकाबाट सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार रुपैयाँ बराबरको आयात गर्दा आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । अर्थात् ७० करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ । पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ ।
पुस मसान्तसम्ममा ६६ अर्ब ४९ करोड ११ लाख रुपैयाँ बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।