बाँसबारी छाला जुत्ताको जग्गा प्रकरणमा अरुण चौधरीसहित तीनै जना रिहा

 माघ २४, २०८० बुधबार १५:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् । उद्यमी चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायाण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई हाजिरी जमानीमा रिहा गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिनुभयो ।

सीआईबीले तीनै जनालाई माघ १८ गते पक्राउ गरेको थियो । अस्ति सोमवार उनीहरूलाई हिरासतमा राख्न दोस्रो पटक म्याद थप्ने क्रममा जिल्ला अदालत काठमाण्डाैले दुई दिनपछि थुनामुक्त गर्न आदेश दिएको थियो ।

सीआईबीका अनुसार २०४३ सालमा बाँसबारी कारखाना र चौधरी परिवारबीच लगानी प्रवर्द्धन सम्झौता भएदेखि नै सरकारी जग्गा निजी स्वामित्वमा पुर्‍याउने खेल शुरु भएको थियो । २०४४ सालमा दुई पटक गरी बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा सारिएको थियो । पछि च्याम्पियन फुटवेयर लिमिटेडलाई कम्पनीमा परिवर्तन गर्दै नामै परिवर्तन गरी चाँदबाग रिसेडन्सीको स्वामित्वमा पुर्‍याइएको सीआईबीले जनाएको छ ।

१० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यक्तिहरू अदालतमा मुद्दा दर्ता नै नभई प्रहरी हिरासतबाटै रिहा भएकै दिन आजकाे प्रतिनिधि सभा बैठकमा सांसदहरूले सरकारले चर्चामा आउने प्रयास मात्रै गरेको आरोप लगाएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले चर्चाका लागि केही मुद्दा उचालेको तर भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउने इच्छाशक्तिका साथ काम नगरेको आरोप लगाउनुभयो । यस्तै बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने व्यक्ति राजनीतिक र आर्थिक रूपमा जतिसुकै शक्तिशाली भए पनि कारबाही गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया