बिजुलीका पोल, खानेपानीका पाइपले काठमाण्डौका पैदल यात्रुलाई सास्ती

 माघ २८, २०८० आइतबार १५:५२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल नेतृत्वको टोलीले वडा नम्बर ४ बालुवाटार क्षेत्रमा निर्माण भइरहेका पैदल मार्ग सुधारको अनुगमन गरेको छ । अनुगमनका क्रममा बिजुलीका पोल, खानेपानीका पाइपले पैदल यात्रुलाई सास्ती भएको पाइएको छ ।

उपमेयर डङ्गोलले परम्परागत रूपमा हुने–गरेका पूर्वाधार निर्माणमा रूपान्तरण नगर्ने हो भने लगानी र प्रयास नतिजामूलक हुन नसक्ने बताउनुभयो । यसका लागि तत्काल निगरानी कक्ष सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । विकास समन्वयका लागि यही माघ २५ गते साझेदार कार्यालयका प्रमुख र प्रतिनिधिबीच सम्पन्न बैठक, त्यहाँ भएको छलफल र गरिएका निर्णयका बारेमा उपमेयर डङ्गोलले भन्नुभयो, ‘सहरको पूर्वाधारमा काम गर्ने सबै कार्यालयका अधिकारीहरू भएको कन्ट्रोल अर्थात् निगरानी कक्ष हुनेछ । निर्माण योजना कार्यान्वयनमा जाँदा त्यस क्षेत्रसँग सम्बन्धित कार्यालयको योजना र दायित्व भएका कामलाई एकीकृत गराउने जिम्मेवारी कक्षमा भएका अधिकारीको हुनेछ ।’

अहिले निगरानी कक्ष कार्यान्वयनमा आइनसकेकोले, बालुवाटार क्षेत्रका पैदल मार्गमा दृष्टिविहीन हिँड्दा सोझै ठोकिने बिजुलीका पोल, यात्रामा अल्झिने गरी राखिएका खानेपानीका पाइपको सङ्ख्या र ठाउँ यकिन गरी पोललाई स्थानान्तरण गर्न र पाइपलाई तत्काल व्यवस्थापन गर्न सम्बन्धित कार्यालयलाई पत्र पठाउन उहाँले योजना, अनुगमन तथा मूल्याङ्कन एकाइलाई निर्देशन दिनुभयो । पैदल मार्गलाई अपाङ्गता भएका व्यक्तिले सजिलै उपयोग गर्न सक्ने बनाउन अझै काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

वडा ४ का अध्यक्ष दिनेश महर्जनले पूर्वाधारमा भएका अवरोधले धेरै दुर्घटना भएको भन्दै सुविधाका लागि बनाइने पूर्वाधार जनधन क्षतिको कारण बन्न नहुने बताउनुभयो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया