केही दिन सबै सेवा बन्द गरेर त्रिभुवन विमानस्थलका पूर्वाधार विस्तार र मर्मत गरिने

पोखरा र भैरहवामा जहाज 'डाइभर्ट' को तयारी

 फागुन ३, २०८० बिहीबार १५:४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आउँदो वर्ष केही दिन विमानस्थल नै बन्द गरेर पूर्वाधार विस्तार र मर्मतका काम तयारी थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा विस्तारका लागि केही दिन विमानस्थल नै बन्द गर्ने तयारी भएको हो । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले आउँदो बर्खा सकिएपछि काम शुरु गर्नुपर्ने जनाएको छ ।

यसका लागि आयोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने ४० वटा वायु सेवा कम्पनीसँग सामान्य छलफल पनि गरेको छ । विमानस्थल बन्द गर्नुअघि अन्तर्राष्ट्रिय र राष्ट्रिय विभिन्न निकायसँग छलफल र अनुमति लिनुपर्छ । यसअघि विमानस्थलको धावन मार्गको मर्मत गर्दा रातभर काम गरेर दिउँसो उडान गरिएको थियो । तर अब अत्यावश्यक उडानका लागि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेकाले कुनै हतार नगरि त्रिभुवन विमानस्थलका विभिन्न क्षेत्रको मर्मत र स्तरोन्नति गर्न लागेको आयोजनाले जनाएको छ ।

काठमाण्डौबाट हुने सबै अन्तर्राष्ट्रिय उडानलाई पोखरा वा भैरहवामा 'डाइभर्ट' गर्ने सम्भावना पनि रहेको छ । अन्तर्राष्ट्रिय हवाई यात्रुहरूले एक वर्षअघिदेखि नै टिकट बुकिङ गरिसक्ने भएकाले विमानस्थल बन्द गर्दा धेरै योजनाहरू बनाउनुपर्ने विमानस्थलले जनाएको छ ।

त्रिभुवन विमानस्थल विस्तारको गुरुयोजना अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा धावनमार्ग, ट्याक्सी वे, पार्किङ वे, एप्रोन लगायत पूर्वाधारको विस्तार भइरहेको छ । गुरुयोजना अनुसार निर्माण कार्य सकिएपछि अहिले जस्तो आकाशमा जहाज 'होल्ड' गराउनुपर्ने र साना जहाजलाई काठमाण्डाैबाहिरका विमानस्थलमै 'होल्ड' गराउनुपर्ने समस्या समाधान हुनेछन् ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया