टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
इलाम – इलामको चुलाचुली गाउँपालिकाका सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएको छ । गाउँपालिकाका सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि निजी स्कुलमा बालबालिका पढाउनुपर्ने बाध्यता हटेको छ ।
चुलाचुली गाउँपालिकाले सबै सरकारी विद्यालयमा आधारभूत तह कक्षा–५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको हो । सरकारी विद्यालयमै अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि बालबालिकालाई अङ्ग्रेजी माध्यम पढाउनकै लागि सहर पसेका अभिभावकसमेत गाउँ फर्कन थालेका छन् । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।
सरकारी विद्यालयमा नेपाली माध्यमबाट पढाइ हुने र अभिभावकको चाहना अङ्ग्रेजी माध्यम बन्दै गएकाले सरकारी विद्यालयमा समेत अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरेएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो ।
गाउँपालिकाले प्रत्येक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन अनुदान कोटामा शिक्षक दिएको छ । अङ्ग्रेजी माध्यमका लागि गाउँपालिकाले २५ जना निजी शिक्षक नियुक्त गरी अनुदान दिँदै आएको छ । सबै विद्यालयमा पूर्वप्राथमिक तहमा निजी विद्यालयमा जस्तै नर्सरी, एलकेजी र यूकेजी कक्षासमेत सञ्चालन हुँदै आएको छ । तीन तहका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क किताब र पाठ्यसामग्री उपलब्ध गराउँदै आएको छ ।
शिक्षा क्षेत्रमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजाने योजनाअनुसार पहिलो काम अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको शिक्षा शाखा प्रमुख राम मिश्रले बताउनुभयो । ‘सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको हो । अहिले निजी विद्यालय छाडेर सरकारी विद्यालयमा विद्यार्थी आउन थालेका तथ्याङ्क प्राप्त भएको छ । अङ्ग्रेजी माध्यमबाट अध्यापन भएपछि निजी विद्यालय र सरकारी विद्यालयमा फरक नहुने समाजमा स्थापित हुँदै गएको समेत उहाँले बताउनुभयो ।
आफ्ना छोराछोरीले गाउँकै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढ्न पाएपछि अभिभावकसमेत खुशी भएका छन् । चुलाचुली गाउँपालिका– १ की विशु राई सरकारी विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेकाले आफूलाई निकै खुशी लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘न्यून आय भएकाहरूलाई सरकारी स्तरबाट गरेको यो प्रयास सराहनीय छ । यसलाई निरन्तरता दिएर जानुपर्छ ।’
त्यसैगरी अर्का अभिभावक अनिस राईले सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन हुन थालेपछि खुशी लागेको बताउनुभयो । उहाँले घर नजिकैको सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम लागू भएपछि निजी विद्यालयमा पढ्दै गरेको बच्चालाई समेत सरकारी विद्यालयमा ल्याउनुभएको छ ।
सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम लागू गरेपछि विद्यार्थी सङ्ख्यासमेत बढेको वडा नम्बर १ को कमलमा रहेको जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विशाल लिम्बू बताउनुहुन्छ । ‘अङ्ग्रेजी माध्यममा पठनपाठन शुरु गरेपछि झन्डै १५ प्रतिशत विद्यार्थी सङ्ख्या बढेको छ’, उहाँले भन्नुभयो, ‘कतिपय अभिभावकले त आफ्ना छोराछोरी बोर्डिङबाट निकालेर यहाँ ल्याएका छन् ।’
चुलाचुली गाउँपालिकामा आठ माध्यमिक, १३ आधारभूत, दुई सामुदायिक सिकाइ केन्द्र र १६ वटा बालविकास केन्द्र छन् । सबै तहमा गरी पाँच हजार जना विद्यार्थी अध्ययरत रहेका गाउँपालिकाको शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ । निजीतर्फ एउटा माध्यमिक र पाँच वटा आधारभूत विद्यालय छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।