बक्सिङ रिङमै बालकको मृत्यु, चौतर्फी विरोध

 कात्तिक २८, २०७५ बुधबार १३:२५:६ | रासस
unn.prixa.net

थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी विरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ । 

थाई बक्सिङ देशैभर निकै लोकप्रिय छ र युवा अवस्थामै धेरै खेलाडी प्रतिष्ठा एवं धनको लोभमा यस खेलमा आकर्षित हुने गरेका छन् । 

तर जतिसुकै आलोचना भएपनि १० वर्ष नपुग्दै रिङमा बालबालिकालाई खेलाउने प्रचलन घट्नुको साटो हरेक वर्ष बढ्दैछ । बच्चाहरुले रिङमा आफ्ना प्रतिद्वन्द्वी खेलाडीका टाउकामा खुट्टा र कुहिनाले निर्मम किसिमबाट प्रहार गर्दछन् । यी बाल खेलाडीले प्रायः टाउकामा सुरक्षा कवच समेत लगाएका हुँदैनन् । 

अधिकांश गरिब परिवारबाट आएका यी बालकहरु परिवारको जीवन गुजाराका आधार समेत बनेका छन् । बच्चाहरुलाई रिङमा उतार्नु एक किसिमले जुवाको खाल जस्तो हुने गर्दछ । 

अनुचा तासाकोको बैंकक नजिकको सामुट प्राकान प्रान्तमा नोभेम्बर १० मा खेलिएको एक खेलमा रिङभित्रै मृत्यु भएको थियो । विपक्षी बालकले अनुचाका टाउकामा धेरै प्रहार गरेसँगै उनी भुँइमा ढलेका थिए । 

स्मार्टफोनमा खिचिएको तस्वीरमा अनुचाको टाउकोमा विभत्स किसिमबाट प्रहार गरिएको देखिएको छ । अचेत भएर ढलेका अनुचालाई मद्दत गर्न उनका सहयोगी तत्कालै रिङभित्र प्रवेश गरे पनि उनको निधन भइसकेको थियो । 

प्रहरीका अनुसार, अनुचाको मृत्यु मस्तिष्कघातबाट भएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार यी बालक आठ वर्षको उमेरदेखि नै बक्सिङ खेल्ने गरेका थिए । उनले यसअघि १५० भन्दा बढी खेल खेलिसकेका थिए । 

उनका प्रतिस्पर्धी बालक निटीक्रोन सोन्डे पनि उस्तै उमेरका रहेको प्रहरीले जनाएको छ । अनुचाको मृत्युप्रति उनले फेसबुकबाट दुःख प्रकट गरेका छन् । 

यी दुवै बालकले टाउकोको सुरक्षाका लागि सुरक्षा कवच लगाएका थिएनन् । 

थाइल्यान्डमा १२ वर्षभन्दा मुनिको उमेरका बच्चाहरुलाई रिङमा उतार्ने कार्य बन्द गर्न एउटा विधेयक संसदमा विचाराधीन छ । अनुचाको मृत्युपछि भने यो विधेयक पारित हुने सम्भावना बढेको छ । 

अनुचाको मृत्यु भएपछि यो खेलमा बालबालिकाको प्रयोगका विरुद्धमा चौतर्फी आवाज उठेको छ । कतिपयले निर्णायकको गल्तीका कारण बालकको ज्यान गएको आरोप लगाएका छन् । 

'ती बालक उभिन सक्ने अवस्थामा पनि थिएनन् । किन निर्णायकले खेल बेलैमा रोकेनन्?' थाई फेसबुक प्रयोगकर्ताहरुले आक्रोश पोखेका छन् । 

थाइल्यान्डका पर्यटन तथा खेलकूद मन्त्रीको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले मस्यौदा विधेयक जतिसक्दो चाँडो संसदमा पेश गरिने बताएका छन् । 

कतिपयले थाइल्यान्डको संस्कृतिका रुपमा रहेको बक्सिङलाई निरुत्साहित नगर्ने गरी विधेयक आउनुपर्ने बताएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया